• २०८३ भाद्र १५ | Mon, 31 Aug 2026

जीर्ण बनेको ऐतिहासिक पँधेरो संरक्षणमा मण्डनदेउपुरका स्थानीय सक्रिय, सरसफाइपछि पुनः सञ्चालन

जीर्ण बनेको ऐतिहासिक पँधेरो संरक्षणमा मण्डनदेउपुरका स्थानीय सक्रिय, सरसफाइपछि पुनः सञ्चालन

मण्डनदेउपुर । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–६ स्थित एक ऐतिहासिक पँधेरोलाई स्थानीयवासीले संरक्षण तथा सरसफाइ गरी पुनः प्रयोगयोग्य बनाएका छन् ।

स्थानीयका अनुसार उक्त पँधेरो धेरै पुरानो हो । यसबाट साविक देउपुर गाविस–३ सिमलीपाटी र साविक महादेवस्थान गाविस–९ अन्तर्गत तल्लो लम्साल बस्तीका करिब १२० घरधुरीले पुस्तौंदेखि खानेपानीको रूपमा प्रयोग गर्दै आएका थिए । ०७२ काे भूकम्पपछि साबिक महादेवस्थान गाविस–९ का वासिन्दा भने वेँसी सरेका छन् । यससँगै अहिले घरघरमा धारा पुगेपछि पँधेरो ओझेलमा परेको थियो भने वर्षायाममा भेल पसेर यसको अवस्था झन् जीर्ण बन्दै गएको थियो ।

हाल पँधेरोको गारो चारैतिर चर्किएर भत्किने अवस्थामा पुगेको छ । यद्यपि, यसमा पलाउने पानी भने अझै पनि अत्यन्तै स्वच्छ र स्वादिलो रहेको स्थानीय बताउँछन् । जाडोयाममा तातो र गर्मीयाममा निकै चिसो पानी आउने विशेषताका कारण यस पँधेरोको छुट्टै महत्व रहेको छ ।

बुधबार बिहान स्थानीयवासीको सक्रियतामा पँधेरो वरपर सरसफाइ गरी पुनः प्रयोग गर्न मिल्ने अवस्था बनाइएको हो । स्थानीयले यस्ता ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको संरक्षण सबैको साझा दायित्व भएको बताएका छन् ।

स्थानीयवासी दीपकप्रसाद लम्सालका अनुसार पछिल्लो समय यस्ता सामाजिक कार्यमा श्रमदान गर्ने संस्कार घट्दै गएको देखिए पनि समुदायको सम्पत्ति जोगाउन प्रत्येक नागरिकले आफ्नो जिम्मेवारी निभाउनुपर्ने आवश्यकता रहेको छ । सरसफाइ अभियानमा सहभागी हुने सबैप्रति उहाँले धन्यवाद व्यक्त गर्दै, सरसफाइ हुने जानकारी हुँदाहुँदै पनि उपस्थित हुन नसक्नेप्रति पनि सकारात्मक भावनासहित आभार प्रकट गर्नुभएकाे छ ।

स्थानीयले सम्बन्धित निकायसँग जीर्ण अवस्थामा रहेको पँधेरोको संरक्षण, मर्मत तथा पुनर्निर्माणमा आवश्यक पहल गरिदिनसमेत आग्रह गरेका छन् ।

तस्बीरः दीपकप्रसाद लम्साल



कालोटोपी कालोटोपी    
  • २०८३ श्रावण ६, बुधबार ११:५१
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP