काभ्रे । नमोबुद्ध नगरपालिका स्थित जनक माध्यमिक विद्यालयमा Rotary Club of Kathmandu Heights को सहयोगमा वृक्षरोपण तथा फलफूलका बिरुवा वितरण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रम अन्तर्गत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जातका ७०० वटा बिरुवा वितरण गरिएको विद्यालयले जनाएको छ । बिरुवा वितरणसँगै विद्यार्थीहरूमा प्रकृतिप्रतिको माया, वातावरण संरक्षणको चेतना तथा हरित भविष्य निर्माण गर्ने संस्कार विकास गर्ने उद्देश्य राखिएको विद्यालयको भनाइ छ ।
विद्यालयका अनुसार आज विद्यार्थीहरूले रोपेका बिरुवाहरू भविष्यमा खाद्य सुरक्षा, शीतल छाया, स्वच्छ हावा तथा समृद्ध वातावरण निर्माणका लागि महत्वपूर्ण आधार बन्ने विश्वास गरिएको छ ।
विद्यालयले Rotary Club of Kathmandu Heights ले विगत वर्षहरूदेखि निरन्तर वृक्षरोपण तथा हरियाली अभियानमा साथ र सहयोग गर्दै आएको उल्लेख गर्दै संस्थाप्रति हार्दिक आभार व्यक्त गरेको छ । यस्ता सहकार्यले विद्यालय परिसरलाई हराभरा बनाउनुका साथै विद्यार्थीहरूमा वातावरणप्रतिको उत्तरदायित्व र संरक्षणको भावना अझ मजबुत बनाएको विद्यालयको विश्वास छ ।
कार्यक्रम सफल बनाउन योगदान पुर्याउने सम्पूर्ण अतिथि, शिक्षक, विद्यार्थी तथा सहयोगी संस्थाप्रति विद्यालयले धन्यवाद ज्ञापन गरेको छ ।
यसैबीच, Rotary Club of Kathmandu Heights को सन् २०२६/२७ कार्यकालका लागि अध्यक्ष पदमा निर्वाचित इ. श्रीकृष्ण धिताललाई विद्यालयले हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ । विद्यालयले “आज रोपिएको एउटा बिरुवा, भोलिको समृद्ध जीवनको आधार हो ।” भन्ने सन्देशसहित वातावरण संरक्षण अभियानलाई निरन्तरता दिने प्रतिबद्धतासमेत जनाएको छ ।
प्रतिक्रिया