काठमाडौं । काठमाडौं महानगरपालिका–१०, बानेश्वरबाट अनलाइन सट्टेबाजी तथा अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) को कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार साउन २१ गते राति करिब ९ बजे परिसरबाट खटिएको प्रहरी टोलीले बानेश्वर क्षेत्रमा शंकास्पद अवस्थामा उनीहरूलाई चेकजाँच गर्ने क्रममा अनलाइन सट्टेबाजी र अभौतिक मुद्राको कारोबारमा संलग्न रहेको खुलेपछि नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार पक्राउ परेकाहरूले 1xBet Application मार्फत सट्टेबाजी गर्ने तथा गराउने गरेको पाइएको छ। उनीहरूले उक्त माध्यमबाट २ लाख ६ हजार रुपैयाँभन्दा बढीको कारोबार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
त्यस्तै, उनीहरूले USDT लगायतका अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) ७९,०६८.६५ USDT कारोबार गरेको पाइएको छ। उक्त कारोबारको नेपाली रुपैयाँमा मूल्य करिब १ करोड २० लाख ५१ हजार ८८१ रुपैयाँ १० पैसा बराबर रहेको प्रहरीले जनाएको छ।
प्रहरीले उनीहरूको साथबाट १,५०१.३२ USDT, अर्थात् नेपाली रुपैयाँमा करिब २ लाख २८ हजार ८३५ रुपैयाँ ७० पैसा बराबरको क्रिप्टोकरेन्सी मौज्दातसमेत फेला पारेको छ। साथै उनीहरूको साथबाट पाँच थान मोबाइल फोन बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा कपिलवस्तुको वाणगंगा नगरपालिका–६ घर भई हाल काठमाडौं महानगरपालिका–१०, बानेश्वर बस्ने ३० वर्षीय नबिन पौडेल, सोही स्थानका १९ वर्षीय राहुल वेल्वासे र २८ वर्षीय रविन वेल्वासे रहेका छन्।
पक्राउ परेकाविरुद्ध सट्टेबाजी गर्न, गराउन नहुने तथा अभौतिक मुद्राको कारोबार गर्न नहुनेसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ। उनीहरूलाई काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
प्रतिक्रिया