रोशी । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ माम्तीस्थित श्री भिमेश्वर माध्यमिक विद्यालयमा मानव बेचबिखन तथा ओसारपसारविरुद्ध सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ । इलाका प्रहरी कार्यालय मंगलटारको आयोजनामा बुधबार (२०८३ साल साउन २७ गते) कार्यक्रम सञ्चालन गरिएको हो । विद्यालयका प्रधानाध्यापक प्रदीप रायमाझीको संयोजकत्वमा भएको कार्यक्रममा इलाका प्रहरी कार्यालय मंगलटारका प्रहरी सहायक निरीक्षक विश्व भुजेलले प्रशिक्षण तथा सहजीकरण गर्नुभएको थियो ।
समुदाय–प्रहरी साझेदारी अवधारणाअनुसार आयोजित कार्यक्रममा विद्यालयमा अध्ययनरत छात्रछात्राको सहभागिता रहेको थियो। कार्यक्रममा मानव बेचबिखन तथा ओसारपसारको अवस्था, यसको कारण, जोखिम, प्रभाव तथा रोकथामका उपायबारे विद्यार्थीलाई जानकारी गराइएको थियो ।
मानव बेचबिखन तथा ओसारपसार गम्भीर सामाजिक अपराधका रूपमा रहेको भन्दै विद्यार्थीलाई अपरिचित व्यक्तिको प्रलोभन, झुटा आश्वासन, रोजगारी तथा वैदेशिक रोजगारका नाममा हुने ठगी र विभिन्न माध्यमबाट हुन सक्ने ओसारपसारप्रति सचेत रहन आग्रह गरिएको थियो । त्यस्तै, सामाजिक सञ्जाल तथा इन्टरनेटको प्रयोग गर्दा अपरिचित व्यक्तिसँग व्यक्तिगत विवरण तथा संवेदनशील जानकारी आदानप्रदान नगर्न पनि सचेत गराइएको थियो ।
कार्यक्रमको उद्देश्य
कार्यक्रमको मुख्य उद्देश्य विद्यार्थी तथा समुदायमा मानव बेचबिखन र ओसारपसारसम्बन्धी ज्ञान तथा सचेतना अभिवृद्धि गर्नु रहेको आयोजकले जनाएको छ । विशेषगरी बालबालिका तथा किशोरकिशोरीलाई बेचबिखनमा पर्न सक्ने सम्भावित जोखिम पहिचान गर्न सक्षम बनाउने, जोखिमपूर्ण अवस्था आइपरेमा सम्बन्धित निकायमा जानकारी गराउने तथा आफू र अरूलाई समेत सुरक्षित राख्न प्रेरित गर्ने उद्देश्यले कार्यक्रम गरिएको हो । त्यस्तै, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा प्रहरी, विद्यालय, परिवार र समुदायबीच सहकार्य तथा साझेदारी बढाउनु पनि कार्यक्रमको महत्वपूर्ण उद्देश्य रहेको छ ।
सचेतना नै महत्वपूर्ण उपाय
मानव बेचबिखन तथा ओसारपसारले पीडितको व्यक्तिगत जीवनसँगै परिवार र समग्र समाजमा गम्भीर असर पार्ने भएकाले यसको नियन्त्रणका लागि कानुनी कारबाहीसँगै व्यापक जनचेतना आवश्यक रहेको कार्यक्रममा जोड दिइएको थियो । विद्यार्थीहरू समाजका महत्वपूर्ण सचेतना संवाहक भएकाले उनीहरूलाई मानव बेचबिखनका सम्भावित जोखिम, प्रलोभन र अपराधका स्वरूपबारे जानकारी गराउन सके परिवार तथा समुदायसम्म समेत सचेतना फैलाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । मानव बेचबिखन तथा ओसारपसार रोकथामका लागि राज्यका निकायको प्रयास मात्र पर्याप्त नहुने भन्दै विद्यालय, अभिभावक, विद्यार्थी, प्रहरी र समुदायबीच निरन्तर सहकार्य आवश्यक रहेको कार्यक्रममा बताइएको थियो ।
कार्यक्रममा “मानव बेचबिखन तथा ओसारपसारको अन्त्य : सुसंस्कृत, सभ्य समाज र सामाजिक रुपान्तरण अबको गन्तव्य” भन्ने मूल सन्देशलाई प्राथमिकताका साथ प्रस्तुत गरिएको थियो । मानव बेचबिखनमुक्त समाज निर्माणका लागि प्रत्येक नागरिक सचेत र जिम्मेवार बन्नुपर्नेमा समेत जोड दिइएको थियो ।
प्रतिक्रिया