• २०८३ भाद्र ५ | Fri, 21 Aug 2026

मण्डनदेउपुर-१२ मा क्षयरोग स्क्रिनिङ शिविर,१ सय २१ जनाको परीक्षण, एक जनामा संक्रमण पुष्टि

मण्डनदेउपुर-१२ मा क्षयरोग स्क्रिनिङ शिविर,१ सय २१ जनाको परीक्षण, एक जनामा संक्रमण पुष्टि

मण्डनदेउपुर, काभ्रे । मण्डनदेउपुर नगरपालिकाको स्वास्थ्य शाखा र जन्त्र नेपालको सहकार्यमा वडा नं. १२ ज्याम्दी स्वास्थ्य चौकीमा सञ्चालन गरिएको क्षयरोग (टीबी) स्क्रिनिङ शिविरमा १ सय २१ जनाको छातीको एक्स–रे परीक्षण गरिएको छ । परीक्षणका क्रममा एक जनामा क्षयरोग पहिचान भएपछि उपचारसमेत सुरु गरिएको नगरपालिकाले जनाएको छ ।

शिविरमा परीक्षण गरिएका मध्ये क्षयरोगको सम्भावना देखिएका ६ जनाको खकारको नमुनासमेत संकलन गरिएको छ । उनीहरूको थप परीक्षणपछि आवश्यक उपचार तथा परामर्श उपलब्ध गराइने स्वास्थ्य शाखाले जनाएको छ ।

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दीपक घिमिरेका अनुसार समुदायस्तरमै क्षयरोगको पहिचान गरी समयमै उपचार सुरु गर्ने उद्देश्यले स्वास्थ्य परीक्षण तथा स्क्रिनिङ कार्यक्रम सञ्चालन गरिएको हो । उनले शिविर सफल बनाउन सहयोग गर्ने स्वास्थ्यकर्मी, जन्त्र नेपाल, स्थानीय जनप्रतिनिधि तथा सहभागी सबैप्रति धन्यवाद व्यक्त गरेका छन् ।

यसैबीच, मण्डनदेउपुर नगरपालिका–१० अन्तर्गत रहेको चण्डेनीमण्डन स्वास्थ्य चौकीमा शुक्रबार क्षयरोग (TB) को निःशुल्क एक्स–रे स्क्रिनिङसहित विभिन्न स्वास्थ्य परीक्षण सेवा सञ्चालन हुने भएको छ । बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुने शिविरमा क्षयरोगको एक्स–रे स्क्रिनिङका साथै रक्तचाप, रगतमा चिनीको मात्रा, BMI अर्थात् तौल तथा उचाइ मापन र पिसाब परीक्षणलगायतका स्वास्थ्य सेवा उपलब्ध हुने जनाइएको छ।

स्वास्थ्यकर्मीका अनुसार दुई साताभन्दा बढी समयसम्म लगातार खोकी लाग्ने, खोकीसँगै रगत आउने, ज्वरो आउने, राति अत्यधिक पसिना आउने, तौल घट्दै जाने, भोक कम लाग्ने, छाती दुख्ने तथा शरीरमा कमजोरी महसुस हुनेजस्ता लक्षण क्षयरोगका सम्भावित संकेत हुन सक्छन् । यस्ता लक्षण देखिएमा समयमै स्वास्थ्य परीक्षण गराउन उनीहरूले आग्रह गरेका छन्।

लक्षण नदेखिएका व्यक्तिमा समेत प्रारम्भिक अवस्थामा क्षयरोग पहिचान हुन सक्ने भएकाले नियमित स्वास्थ्य परीक्षण महत्वपूर्ण हुने स्वास्थ्यकर्मीको भनाइ छ । समयमै पहिचान गरी उपचार सुरु गरेमा क्षयरोग निको हुने भएकाले समुदायका सबै नागरिकलाई शिविरमा सहभागी हुन आग्रह गरिएको छ ।

चण्डेनीमण्डन स्वास्थ्य चौकीले आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी लिन तथा सम्भावित रोगको समयमै पहिचान गर्न स्थानीयवासीलाई शिविरमा सहभागी हुन अनुरोध गरेको छ । साथै, परिवार, छिमेकी तथा समुदायका अन्य व्यक्तिसम्म समेत सूचना पुर्‍याई शिविरमा अधिकतम सहभागिता गराउन आग्रह गरिएको छ ।



कालोटोपी कालोटोपी    
  • २०८३ श्रावण २८, बिहीबार १८:१३
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP