• २०८३ कार्तिक ११ | Tue, 27 Oct 2026

पश्चिमबाट मनसुनको प्रभाव क्रमशः कम हुँदै

पश्चिमबाट मनसुनको प्रभाव क्रमशः कम हुँदै

काठमाडौँ । नेपाल मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीका साथै मनसुनी वायुको प्रभावसमेत रहेको छ । देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ भने तराई भूभागमा आंशिक बादल लागेको छ ।

कोशी, बागमती, गण्डकी र सुदूरपश्चिमको थोरै ठाउँ र लुम्बिनी प्रदेशको एक, दुई स्थानमा मेघगर्जन चट्याङसहित मध्यम वर्षा भइरहेको छ । मङ्गलबार कोशी, बागमती, गण्डकी तथा कर्णाली प्रदेशको थोरै भूभाग र सुदूरपश्चिम प्रदेशको एक, दुई ठाउँमा वर्षा भएको थियो ।माैसमविदका अनुसार पश्चिमी भूभागमा मनसुनको प्रभाव कम भएको तर पूर्वी भूभागमा मनसुन बाँकी नै छ । भारतको बिहार आसपासको क्षेत्रमा न्यूनचापीय प्रणालीहरु बनिरहेको अवस्था छ । पश्चिमी वायुको प्रभाव पनि छ । त्यसले गर्दा पानी परिरहेको छ ।

यसले कतै भारी वर्षा भएको र कतै मध्यम वर्षा भएको हाे । मङ्गलबार काठमाडौँ, काभ्रे, सिन्धुपाल्चोक, दोलखा लगायत कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही जिल्लाहरुमा मेघगर्जन चट्याङ, हावाहुरी र असिनासहित वर्षा भएको छ । सो स्थानमा थप वर्षा हुने महाशाखाले जनाएको छ ।

यस वर्ष नेपालमा करिब ६ दिन ढिला अर्थात् जुन १९ मा मनसुन प्रवेश गरेको थियो । यस वर्षको मनसुन नेपालको पश्चिमी भूभागबाट बाहिरिन सुरु भइसकेको छ । सामान्यतया नेपालमा मनसुन सरदर जुन १३ मा प्रवेश गर्दछ र अक्टोबर २ मा मनसुन बाहिरिने गर्दछ । एलनिनो प्रभावका कारण मनसुन ढिलो प्रवेश भएको मौसमविद्हरुले बताएका थिए ।

यस वर्षको मनसुन अवधिमा उत्तर अन्डमान सागर र सो आसपास क्षेत्रमा विकसित न्यूनचापीय क्षेत्रका कारण गत असोज ९ देखि १२ गतेसम्म देशको अधिकांश भूभागमा हावाहुरी मेघगर्जन, चट्याङ्गसहित भारी वर्षा भएको थियो । नेपाल मौसम विज्ञान विभागका प्रवक्ता एवम् मौसमविद् विभूति पोखरेलका अनुसार ३ अक्टोबर अर्थात् असोज १७ गतेदेखि मनसुन नेपालको पश्चिमी प्रदेशबाट बाहिरिने क्रम सुरु भएको छ ।

समग्रमा मनसुनी वायु कमजोर हुँदै गएको अवस्था छ । केही दिनभित्र देशभरबाट मनसुन बाहिरिने उहाँ बताउनुहुन्छ । जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र बाढी पूर्वानुमान महाशाखाका अनुसार मङ्गलबार देशको विभिन्न भूभागमा वर्षा भए पनि उक्त वर्षाले सतर्कता तह पार गरेको छैन ।गाेरखापत्रबाट



कालोटोपी कालोटोपी    
  • २०८३ आश्विन २१, बुधबार ०६:१२
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP