काभ्रे । काभ्रेको भुम्लु गाउँपालिकामा निर्माण गरिएको १० शय्याको आधारभूत अस्पतालबाट औपचारिकरूपमा उपचार सेवा सुरु भएको छ । लामो समयको प्रयास र विभिन्न चुनौती पार गर्दै गाउँपालिकामै अस्पतालस्तरको स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यसहित अस्पताल सञ्चालनमा ल्याइएको हो ।
भुम्लु गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर भुजेलका अनुसार बौद्ध तथा हिन्दू संस्कार र विधिअनुसार पूजा–आराधना गरी आज आइतबारदेखि अस्पतालको उपचार सेवा औपचारिक रूपमा शुभारम्भ गरिएको हो ।
अस्पतालमा उपचार सेवा सुरु भएसँगै स्थानीय नागरिकलाई स्वास्थ्य उपचारका लागि टाढाका अस्पतालमा जानुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ । गाउँपालिकामै आधारभूत अस्पताल सञ्चालनमा आउनुले स्थानीय बासिन्दाको स्वास्थ्य सेवामा पहुँच विस्तार हुनुका साथै समयमै उपचार प्राप्त गर्न सहज हुने विश्वास गरिएको छ । अस्पतालको उपचार सेवा शुभारम्भलाई भुम्लुवासीका लागि महत्वपूर्ण उपलब्धिका रूपमा उल्लेख गर्दै गाउँपालिका अध्यक्ष भुजेलले यसलाई जनताको स्वास्थ्य, सुरक्षा र समृद्ध भविष्यसँग जोडिएको आशाको केन्द्रका रूपमा व्याख्या गरेका छन् ।
‘लामो आरोह–अवरोह, निरन्तर प्रयास र अनेकौँ चुनौती पार गर्दै भुम्लुका नागरिकलाई आफ्नै गाउँपालिकाबाट अस्पतालस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने ऐतिहासिक दिनमा पालिका प्रमुखको हैसियतले उपचार सेवा उद्घाटन गर्न पाउँदा आफूलाई अत्यन्त भाग्यमानी र गौरवान्वित महसुस गरेको छु,’ अध्यक्ष भुजेलले भने । उनले अस्पताललाई केवल भौतिक संरचनाका रूपमा मात्र नभई नागरिकको स्वास्थ्य र सुरक्षित भविष्यसँग जोडिएको महत्वपूर्ण संस्थाका रूपमा लिनुपर्ने बताएका छन् ।
अस्पताल निर्माण तथा सञ्चालनको प्रक्रियामा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, निर्माण व्यवसायी, संघ तथा प्रदेश सरकार र भुम्लुवासी नागरिकप्रति अध्यक्ष भुजेलले आभार व्यक्त गरेका छन् । स्थानीय तहमा स्वास्थ्य पूर्वाधार विस्तार गर्ने प्रयास अन्तर्गत सञ्चालनमा आएको यस अस्पतालले भुम्लुका नागरिकलाई आफ्नै क्षेत्रमा सहज र सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।-कालाेटाेपी डटकम
प्रतिक्रिया