काठमाडौं । नयाँ तथा पुराना सवारीसाधन खरिद–बिक्री गर्दा नामसारीका लागि यातायात व्यवस्था कार्यालयमा अनिवार्य रूपमा उपस्थित हुनुपर्ने बाध्यता हट्ने भएको छ । यातायात व्यवस्था विभागले सवारीसाधन दर्ता तथा नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० का केही प्रावधान संशोधन गरेको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभागले सार्वजनिक सूचना जारी गर्दै संशोधित व्यवस्थाअनुसार सेवा प्रवाह गर्न सम्बन्धित सबैलाई जानकारी गराएको हो । सूचनामा २०८३ असोज २६ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार निर्देशिकाका प्रावधान संशोधन गरिएको उल्लेख छ ।
विभागका अनुसार अब निजी तथा सार्वजनिक सवारीसाधनको पहिलो पटक नामसारी गर्दा डिलरले यातायात व्यवस्था कार्यालयमा गराएको चेकजाँचलाई नै मान्यता दिइनेछ। यससँगै पुनः यातायात व्यवस्था कार्यालयमा गएर चेकजाँच गराउनुपर्ने व्यवस्था हटाइएको छ । त्यसैगरी, सवारीसाधन बिक्री गर्ने डिलरले खरिदकर्ता यातायात व्यवस्था कार्यालयमा उपस्थित नभए पनि नामसारी प्रक्रिया पूरा गर्न सक्नेछन् । यसका लागि खरिदकर्ताको बायोमेट्रिक विवरण, नेपाल सरकारबाट जारी भएको सक्कल परिचयपत्र र खरिदकर्ताको फोटोसहितको सक्कल परिचयपत्र वारेसनामामा प्राप्त भएको हुनुपर्ने सूचनामा उल्लेख छ । यस्तो अवस्थामा खरिदकर्ता कार्यालयमा उपस्थित भएसरह दर्ता तथा नामसारीको काम सम्पन्न गर्न सकिने व्यवस्था गरिएको छ ।
विभागले सवारीसाधनको बीमा गर्ने वा बीमा नवीकरण गर्ने प्रयोजनका लागि समेत सवारीधनी स्वयं यातायात व्यवस्था कार्यालयमा उपस्थित हुनुपर्ने बाध्यता हटाएको छ । अब सवारीधनीको अनुपस्थितिमै बीमा तथा नवीकरणसम्बन्धी काम गर्न सकिनेछ । यसैगरी, निजी तथा सार्वजनिक सवारीसाधनको नामसारी गर्दा विभागबाट विद्युतीय प्रणाली (VRS) सम्बन्धी प्राविधिक व्यवस्था गरिएको सूचना जारी भएपछि सवारी विक्रेता, वितरक वा कम्पनीले उक्त प्रणालीमा आबद्ध हुन सक्नेछन् । त्यसका लागि आवश्यक पूर्वाधारको व्यवस्था गरी यातायात व्यवस्था कार्यालयसँग माग गर्नुपर्नेछ ।
अब खरिदकर्ताको फोटो र सक्कल परिचयपत्रका आधारमा नामसारी गर्न सकिने, बीमा नवीकरणमा पनि सवारीधनीको उपस्थिति अनिवार्य नहुने
विभागले यातायात व्यवस्था कार्यालयले एकद्वार प्रणालीमार्फत बायोमेट्रिक विवरण लिन सक्ने व्यवस्था मिलाएपछि सम्बन्धित सवारी विक्रेता, वितरक वा कम्पनीलाई आवश्यक प्राविधिक पहुँच उपलब्ध गराउनुपर्ने जनाएको छ । नयाँ व्यवस्थाले सवारीसाधन खरिद–बिक्री, नामसारी तथा बीमा नवीकरणका क्रममा सेवाग्राहीले व्यहोर्दै आएको झन्झट कम गर्नुका साथै समय र खर्च बचत हुने अपेक्षा गरिएको छ। साथै, यातायात सेवा प्रवाहलाई थप सहज, सरल र प्रविधिमैत्री बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।
प्रतिक्रिया