सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकामा शून्य होम डेलिभरी तथा पूर्ण संस्थागत सुत्केरीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।
बागमती प्रदेशमै पहिलोपटक शून्य होम डेलिभरी अर्थात् घरमा हुने सुत्केरीलाई शून्यमा झार्ने लक्ष्यसहित पूर्ण संस्थागत सुत्केरी कार्यक्रम सुरु गरेको त्रिपुरासुन्दरी गाउँपालिकाले मातृ मृत्युदर घटाउन र स्वास्थ्य संस्थामा सुत्केरी हुने दर बढाउन कार्यक्रम आयोजना गरेको हो ।
दिगो विकास लक्ष्य प्राप्तिमा योगदान पुर्याउने तथा मातृ मृत्युदरलाई शून्यमा झार्ने लक्ष्यका साथ गाउँपालिकाले पहल गरिरहेको स्वास्थ्य शाखा प्रमुख चन्द्रनारायण शाहले जानकारी दिनुभयो । उहाँका अनुसार मातृ मृत्युदर प्रति एक लाख जीवित जन्ममा १५१ रहेको सन्दर्भमा यसलाई शून्यमा झार्ने लक्ष्य राखिएको छ । पालिकाको मातृ मृत्युदर र नबजाज शिशु मृत्यदर शुन्य रहेको पालिकाले जनाएको छ ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष भक्तध्वज बोहोराले स्वास्थ्यकर्मीको ज्ञान, सीप र विज्ञताको प्रभावकारी उपयोगबाट समाजमा अपेक्षित स्वास्थ्यसम्बन्धी परिवर्तन सम्भव रहेको बताउनुभयो । यसका लागि गाउँपालिका र आफू सधैँ सहकार्य तथा सहयोग गर्न तयार रहेको उहाँले स्पष्ट पार्नुभयो ।
अध्यक्ष बोहोराले स्वास्थ्य क्षेत्रमा अपेक्षित उपलब्धि हासिल गर्न कार्यशैली परिवर्तन गर्दै नतिजामुखी ढङ्गले काम गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा गाउँपालिकाका स्वास्थ्यकर्मी, सामाजिक विकास संयोजक रमेश बोहोरा लगायतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया