सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिका–६, नागथानस्थित मध्यपहाडी लोकमार्गबाट यात्रुवाहक जिप सुनकोशी नदीमा खस्दा तीन महिलाको मृत्यु भएको छ । दुर्घटनामा चालकसहित चार जना घाइते भएका छन् भने तीन जना बेपत्ता छन् । आइतबार बिहान करिब २ः३० बजे काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १ ज २९७६ नम्बरको जिप सडकबाट करिब २०० मिटर तल सुनकोशी नदीमा खसेको हो । दुर्घटनामा तीन महिलाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनाको सूचना प्राप्त हुनासाथ प्रहरी चौकी रत्नावती र प्रहरी चौकी खाङसाङबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो । दुर्घटनामा घाइते भएका चार जनाको उद्धार गरी सुरुमा उदयपुरको घुर्मीस्थित जनसेवा हेल्थ सेन्टर प्रा.लि.मा लगिएको थियो । उनीहरूलाई थप उपचारका लागि सिन्धुली जिल्ला अस्पताल पठाइएको छ ।
घाइते हुनेमा जिप चालक ओखलढुंगाका करिब २९ वर्षीय आशिष बिष्ट, खोटाङको दिक्तेल नगरपालिका–३ की ३८ वर्षीया सम्झना राई, उनकी १२ वर्षीया छोरी सिवानी राई र दिक्तेल नगरपालिका–१ का १३ वर्षीय अंकित विक रहेका छन् ।
चालकको भनाइअनुसार दुर्घटनापछि तीन जना बेपत्ता छन् । उनीहरूको खोजी तथा उद्धारका लागि इलाका प्रहरी कार्यालय खुर्कोटबाट प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलको कमान्डमा सात जना प्रहरी परिचालन गरिएको छ । त्यस्तै, सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन बेस खुर्कोटबाट सशस्त्र प्रहरी नायब निरीक्षक नरेन्द्र गुरुङको कमान्डमा गोताखोरसहितको टोली पनि घटनास्थलमा खटिएको छ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले सुनकोशी नदीमा बेपत्ताहरूको खोजी तथा उद्धार कार्य जारी राखेको छ। दुर्घटनाको कारण खुल्न सकेको छैन। मृतकको पहिचान तथा बेपत्ता व्यक्तिहरूबारे थप विवरण आउन बाँकी रहेको छ। घटनास्थलमा उद्धार कार्यसँगै दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ।
प्रतिक्रिया