• २०८३ कार्तिक ११ | Tue, 27 Oct 2026

रविसँग दाजु हरिशरणको दशैँ संवाद : पोडवे निर्माणदेखि गैरदलीय स्थानीय निर्वाचनसम्मका एजेन्डा

रविसँग दाजु हरिशरणको दशैँ संवाद : पोडवे निर्माणदेखि गैरदलीय स्थानीय निर्वाचनसम्मका एजेन्डा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग दशैँको अवसरमा भएको संवादमा उनका दाइ हरिशरण लामिछानेले जलवायु परिवर्तन, आधुनिक यातायात, जलस्रोत व्यवस्थापन, गैरदलीय स्थानीय निर्वाचन र राष्ट्रिय राजनीतिक स्थिरतासहित पाँच विषयमा सुझाव प्रस्तुत गरेका छन् ।

रवि लामिछानेका दाइ हरिशरण लामिछानेले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेको विवरणअनुसार, उक्त भेट राजनीतिक प्रयोजनका लागि नभए पनि देशका समसामयिक विषयमा भाइ रविसँग संक्षिप्त रूपमा विषयगत छलफल भएको हो । उनले छलफलका विषयलाई ‘हाम्रो दशैँ वार्ता’ शीर्षक दिएका छन् । हरिशरणले प्रस्तुत गरेका सुझावमा प्राकृतिक विपद् र जलवायु परिवर्तनबाट उत्पन्न चुनौतीको दिगो समाधानदेखि देशको यातायात प्रणालीमा नवीन प्रविधिको प्रयोगसम्मका विषय समेटिएका छन् ।

उनले नेपालको भूबनोटअनुसार दीर्घकालीन योजनासहित देशव्यापी रूपमा पोडवे (Podway) प्रणाली विकास गर्नुपर्ने प्रस्ताव गरेका छन् । हेटौँडा–काठमाडौं पुरानो रोपवेलाई आधुनिक पोडवे प्रणालीमा रूपान्तरण गर्न सकिने उल्लेख गर्दै उनले यसलाई वातावरणमैत्री, कम लागतको र छोटो समयमै निर्माण गर्न सकिने यातायात विकल्पका रूपमा अघि सारेका छन् । सडकमा सवारीसाधनको चाप घटाउन यस्तो परियोजना प्रभावकारी हुन सक्ने उनको तर्क छ ।

त्यसैगरी, जमिनमुनि पानी पुनर्भरण गर्ने (ग्राउन्ड वाटर रिचार्ज) योजना कार्यान्वयन गरी काठमाडौं उपत्यकाको जलप्रवाह सुधार गर्ने सम्भावनाबारे पनि उनले ध्यानाकर्षण गराएका छन् । विपन्न तथा औसतभन्दा कम आय भएका नागरिकलाई निश्चित अनुपातमा निःशुल्क सुविधा उपलब्ध गराउने र घरायसी सौर्य ऊर्जाबाट आम्दानी गर्न सकिने स्मार्ट मिटरिङ प्रणालीको अवधारणालाई समेत उनले छलफलमा समेटेका छन् ।

हरिशरणले गैरदलीय आधारमा स्थानीय तहको निर्वाचन गराउने विषय पनि उठाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीकै वाचापत्रमा उल्लेखित विषयसँग जोड्दै उनले स्थानीय निर्वाचनको स्वरूप र प्रदेशको भूमिकाबारे पुनर्विचार गर्नुपर्ने संकेत गरेका छन् ।

यसैगरी, नेपालको आर्थिक, सामाजिक र राजनीतिक अवस्था तथा वर्तमान भूराजनीतिक जटिलतालाई ध्यानमा राख्दै राष्ट्रिय प्राथमिकता र रणनीति स्पष्ट पार्नुपर्नेमा उनले जोड दिएका छन् । राजनीतिक स्थिरता, सुशासन, दिगो शान्ति र समृद्धिका लागि सर्वपक्षीय सहमति निर्माण आवश्यक रहेको उनको धारणा छ । (स्रोत : हरिशरण लामिछानेको फेसबुक पोस्ट)



कालोटोपी कालोटोपी    
  • २०८३ कार्तिक ७, शुक्रबार ०७:११
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP