ज्ञानमणि नेपाल कालोटोपी
काभ्रे । काभ्रेपलाञ्चोक जिल्लाको भुम्लु गाउँपालिकाका २३५ किसानलाई अनुदानमा ट्याक्टर वितरण गरिएको छ । सोमबार गाउँपालिकामा आयोजित एक कार्यक्रममा ट्याक्टर वितरण गरिएको हो ।
गाउँपालिकाले ५० प्रतिशत र किसानले ५० प्रतिशत लगानीमा ट्याक्टर वितरण गरिएको हो । यसअघि विभिन्न वडाहरुले अनुदानमा वितरण गरे पनि पालिकाले भने पहिलो पटक यति धेरै मात्रामा ट्याक्टर वितरण गरेको र यसमा किसानले प्रतिट्याक्टर १३ हजार लगानी गरेका पालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णबहादुर खत्रीले जानकारी दिनुभयो ।
पालिकाका अध्यक्ष प्रेमबहादुर भुजेल, उपाध्यक्ष जितेन्द्र लामा, प्रमुख प्रशासकीय अधिकृत कृष्णबहादुर खत्रीलगायतले किसानहरुलाई कृषि औजार ट्याक्टर वितरण गर्नुभएको हो । यसका लागि पालिकाले करिब ५० लाख लगानी गरेको प्रमुख प्रशासकीय अधिकृत खत्रीको भनाइ छ । कूल ९६ लाखको कृषि औजारहरु वितरण गरिएको पालिकाले जनाएको छ ।
पालिकाले यसका लागि सबै वडाहरुमा निश्चित कोटा तोकेर आवेदनका लागि आव्हान गरेको थियो । जसमा सरकारी सेवामा रहेकाले नपाउने र दलित, न्यून आय भएका, अपाङ्गता भएकाको परिवार, अल्पसंख्यकले आवेदन दिन पाउने मापदण्डसहित व्यवस्था गरिएको थियो । सोही मापदण्डमा रहेर किसानहरुले आवेदन दिएका थिए । गाउँपालिकाको कृषिमा आधुनिकीकरण र यान्त्रिकरण गर्ने नीति अनुसार यसपटक ट्याक्टर वितरण गरिएको र आगामी दिनमा अन्य कृषि औजार पनि वितरणको योजना रहेको पालिका प्रमुख प्रेमबहादुर भुजेलले जानकारी दिनुभयो ।

भुम्लु गाउँपालिकाको वडानम्बर ९ का किसान भोलानाथ पराजुली पालिकाले अनुदानमा वितरण गरेको ट्याक्टरका लागि चर्को घामको मतलब नगरि आउनुभएको थियो । यसअघि अरु छिमेकीहरुको सहयोगमा खेतबारी खनजोत गरिरहनुभएका उहाँले अब आफैं ट्याक्टर चलाउने गरि खरिद गर्न लागिएको बताउनुभयो । छुटमा ट्याक्टर पाउँदा उहाँ खुशी हुनुहुन्थ्यो । यस्तै वडा नम्बर ९ कै भिमानन्द पराजुली पनि ट्याक्टर पाउँदा निकै खुशी देखिनुहुन्थ्यो । अब खेती गर्न सजिलो हुने उहाँको आशा छ ।

पहिले पहिले गोरुको प्रयोग गरिने यस गाउँमा एक दशकदेखि ट्याक्टर प्रयोगमा आउन थालेको हो । यसअघि पनि ट्याक्टरले खेतबारी जोत्ने गरेको भए पनि आफ्नै लगानीमा उहाँले किन्नु भएको थिएन । यो पटक पालिकाले वितरण गरेको ट्याक्टर पाएपछि यसलाई सदुपयोग गर्ने उहाँले बताउनुभयो ।
हेराैँ भिडियाेः
Facebook VideoLoading video...
प्रतिक्रिया