मण्डनदेउपुर । काभ्रेको मण्डनदेउपुर नगरपालिका–३ स्थित खस्रे गुरुङ गाउँमा परम्परागत कोदो रोपाइँ उत्साहपूर्वक सम्पन्न भएको छ ।
लोप हुनै लागेको रैथाने बाली कोदोको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजित रोपाइँ कार्यक्रममा मण्डनदेउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाइवालगायत जनप्रतिनिधि, स्थानीय कृषक तथा गाउँवासीको सक्रिय सहभागिता रहेको थियो ।
पोषणयुक्त, वातावरणमैत्री तथा जलवायु परिवर्तनसँग अनुकूल मानिने कोदो नेपालको महत्वपूर्ण रैथाने अन्नबाली हो । पछिल्लो समय खेतीयोग्य जमिन घट्दै जानु, युवा पुस्ताको कृषिप्रतिको आकर्षण कम हुनु तथा व्यावसायिक खेतीतर्फको झुकावका कारण कोदो खेती क्रमशः घट्दै गएको छ ।
स्थानीय तह, कृषक र समुदायको संयुक्त प्रयासबाट कोदो जस्ता रैथाने बालीको संरक्षण, उत्पादन वृद्धि र बजारीकरणमा जोड दिन सके कृषिमा विविधता जोगाउनुका साथै खाद्य सुरक्षामा समेत महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ ।

“लोप हुनै लागेको कोदो बाली संरक्षणमा सबै जुटौँ” भन्ने सन्देशका साथ सम्पन्न भएको यो रोपाइँ कार्यक्रमले रैथाने बाली संरक्षणप्रति समुदायको प्रतिबद्धता झल्काएको छ ।
प्रतिक्रिया