ज्ञानमणि नेपाल कालोटोपी
महाभारत । काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिकामा यतिबेला कफीका बिरुवा रोप्ने अभियानले तिब्रता पाएको छ । पालिकाले यहाँ चार वटा प्याकेज बनाएर कफी रोप्ने अभियान शुरु गरेको छ । जसमा किसानहरुले पनि निकै चासोपूर्वक सक्रिय सहभागिता जनाएका पालिका अध्यक्ष कान्छालाल जिम्बा बताउनुहुन्छ । उहाँका अनुसार हाल पालिकाको वडानम्बर १, ६ र ७ मा ‘जसले रोप्छ कफीका बोट, उसले पाउँछ बीसको नोट’ कार्यक्रम अन्तर्गत १७ हजार बिरुवा वितरण भइसकेको छ ।
यही कार्यक्रम अन्तर्गत नै वडानम्बर ८ मा थप ८ हजार बिरुवाहरु वितरण हुने क्रममा रहेको र ‘एक वडा एक उत्पादन’ अन्तर्गत वडानम्बर ५ मा यस वर्ष मात्रै ३० हजार बढी बिरुवाहरु रोपिएको पालिकाका कृषि प्राविधिक खिम डाँगीले जानकारी दिनुभयो । गाउँपालिकाको कृषि तथा पशुपन्छी शाखाको ‘फिल्ड अनुगमन’ अनुसार जसले बिरुवा रोप्नका लागि प्रक्रियागतरुपमा खाडल खनेको छ, त्यही किसानलाई मात्र बिरुवा वितरण गर्ने गरिएको छ । वडानम्बर १ मा १३ हजार कफीका बिरुवा माग थियो तर त्यहाँ बिरुवा रोप्नका लागि ६ हजार ५०० मात्र खाडल खनिएका कारण त्यहीअनुसार बिरुवा वितरण भएको हो । यस्तै वडानम्बर ६ मा ११ हजार माग भएकोमा ७ हजार वितरण भयो भने वडानम्बर ७ मा पनि १३ हजार माग भएकोमा ३ हजार ५०० मात्र वितरण भएको कृषि प्राविधिक डाँगीले जानकारी दिनुभयो । बिरुवाहरु पालिकाले हरेक वडाहरुमा लगिदिने र वडाबाट किसानले लैजान सक्ने उहाँको भनाइ छ ।
ब्लग विकास कार्यक्रममा २ र ३ नम्बर वडामा १७ हजार बिरुवा रोपिएको छ । कफी प्रवर्द्धन कार्यक्रम अब विस्तारै शुरु हुँदैछ । यी सबै कार्यक्रम अन्तर्गत सबै किसानहरुलाई समेट्दै कफी रोपिने डाँगीले बताउनुभयो । उहाँका अनुसार पालिकाले कफी खेतीकै लागि १ करोड ५० लाख जति बजेट विनियोजन गरेको छ । यसमा प्रदेशको पनि सहयोग छ भने किसानहरुको पनि केही प्रतिशत साझेदारीमा अभियान चलिरहेको बताइएको छ ।
जिल्लाको दक्षिणपूर्वी क्षेत्रमा अवस्थित गाउँपालिका महाभारतमा गर्दै आएको व्यवसायिक कफी उत्पादनलाई आधुनिकमैत्री बनाउन थालिएको छ । यसका लागि गाउँपालिकाले कफी–किसानलाई बर्षेनी बिरुवासँगै आधुनिक कृषि सामग्रीसमेत वितरण गर्ने गरेको छ । किसानलाई आधुनिक कृषि प्रविधिसँग जोड्दै थप सहज र उत्पादन बृद्धि गरी कफीबाटै आत्मनिर्भर बनाउने उद्देश्यले व्यवसायिक किसानलाई सामग्री वितरण गरिएको गाउँपालिका अध्यक्ष जिम्बाको भनाइ छ । पालिकाले विगत ४ वर्षदेखि ‘चिया हेर्न इलाम जाउँ, कफीका लागि महाभारत’ भन्ने नारा अघि सारेको उहाँले बताउनुभयो । उहाँका अनुसार गाउँपालिकाले किसानलाई अनुदानमा कफीको बिरुवा वितरण गर्दै आएको छ । यहाँ व्यवसायिक कफी उत्पादन गर्ने किसान एक हजार २०० को हाराहारीमा रहेको र करिब एक हजार ४३३ रोपनी जमिनमा कफी खेती भइरहेको छ ।
कफी उत्पादनलाई पकेट क्षेत्रका रूपमा विकसित गर्दै हरेक वर्षको नीति तथा कार्यक्रममा प्राथमिकतामा राखिएको अध्यक्ष जिम्बाको भनाइ छ । यहाँका किसान कफी खेतीमा आकर्षित हुँदै परम्परागतरूपमा मकै, कोदोलगायत खाद्यान्न बाली छोड्दै मुख्य आम्दानीको स्रोत कफीलाई बनाउन थालेकाले बिरुवा वितरणलाई पनि अभियानकै रूपमा अगाडि बढाइएको उहाँले बताउनुभयो । यहाँका किसानले कफी खेतीबाट पछिल्ला वर्षहरुमा बर्षेनी एक लाखदेखि १५ लाखसम्म आम्दानी गर्दै आइरहेका छन् । महाभारतमा कफीको उत्पादन राम्रो हुने र बजारीकरणको समस्या पनि नभएकाले पछिल्ला केही वर्षदेखि यहाँका किसान कफी खेतीतर्फ आकर्षित भएका हुन् ।
गाउँपालिकाको वडा नं. ५ घैयाँडाँडाकी देवीमाया तुम्सिङ मगर आफ्नो पाखोबारीमा मकै रोप्दै हुनुहुन्थ्यो । साथै कफीका बिरुवा रोप्नका लागि खाडल पनि बनाइरहनुभएको थियो । श्रीमानले पनि उहाँलाई सहयोग गरिरहनुभएको थियो । त्यति मात्र होइन, पाँच जना ज्यामीहरु पनि लगाइएका थिए । करिब ६ रोपनीको पाखो बारीभरि कफीका विरुवा रोप्ने उहाँको योजना छ । यसका लागि करिब आठ सय वटा खाडल खनिएको मगरले बताउनुभयो ।

अन्य बाली लगाउनुभन्दा कफीबाट धेरै आम्दानी हुने भएपछि आफूहरुले केही वर्षदेखि कफी खेतीलाई प्राथमिकता दिन थालेको बताउँदै उहाँले मकै खेती गर्दा उत्पादनमा कमी हुने र बाँदरले खाएर सखाप पार्न थालेपछि कफी खेतीलाई जोड दिएको बताउनुभयो । उहाँका अनुसार कफीमा बाँदरले दुःख दिँदैन ।
बागमती प्रदेश सरकार र महाभारत गाउँपालिकाको सहयोगमा यहाँका कफी खेती गर्ने किसानहरुका लागि आफूहरुले समन्वय र सहयोग गर्दै आएको महाभारत साना किसान तथा कृषि सहकारी संस्थाका प्रबन्धक चन्द्रकुमार लुंगेली मगरले बताउनुभयो । उहाँले प्रदेश सरकारको ६० प्रतिशत, महाभारत गाउँपालिकाको २० र किसानको २० प्रतिशत लागत साझेदारीमा पालिकामा व्यवसायिक कफी खेती भइरहेको जानकारी दिनुभयो ।

उत्पादन र गुणस्तर राम्रो भएकाले यहाँको कफीको माग निकै छ । व्यापारीहरु किसानका बारीमै पुगेर खरिद गरिरहेका छन् । महाभारत गाउँपालिकामा कफीको बजारीकरणसमेत राम्रो भएको तथा गत वर्ष मात्रै ८० टनभन्दा बढी कफी निर्यात भएको पालिकाले जनाएको छ । यो वर्ष एक लाख टन उत्पादन गर्ने र करिब १० करोड आम्दानी हुने अनुमान छ ।
खाडल खन्न मेशिनको प्रयोग
यहाँ यसअघि कफी रोप्नका लागि किसानहरुले हातैले कोदालो र कोदालीको प्रयोग गर्ने गरेका थिए । तर यस वर्ष पालिकाले सहयोग गरेपछि केही किसानहरुले मेशिनको प्रयोग गर्न थालेका छन् । खाडलको साइज राम्रो र गहिरो पनि पर्याप्त बनाउन सकिने भएकाले परिक्षणको रुपमा मेशिनको प्रयोग गरिएको हो । अहिले ५ वटा यस्ता मेशिन पालिकाले अनुदानमा सहयोग गरेको छ । यसले काम गर्न सहज हुने अपेक्षा छ । यहाँ उत्पादित कफी पूर्णरुपमा अर्गानिक छ । रासायनिक मल र विषादीको प्रयोग गरिँदैन । समय समयमा गोडमेल र सिंचाईको भने आवश्यकता पर्छ । अब खेतीका लागि विभिन्न प्रविधिहरु भित्रिएपछि थप सहज हुने किसानहरु बताउँछन् ।

प्रतिक्रिया