ज्ञानमणि नेपाल कालोटोपी
बनेपा । “कुशल/स्वस्थ बनौं – मानव अधिकारका लागि उठौँ” भन्ने नारासहित नेपाल मानव अधिकार संगठन जिल्ला शाखा, काभ्रेले नेपाल परिवार नियोजन संघका नवनिर्वाचित अध्यक्ष पुनम जोशी र संगठनका उपाध्यक्ष गोविन्द घिमिरे विश्व हिन्दु महासंघ बागमती प्रदेश सदस्यमा निर्वाचित हुनुभएकोमा सम्मान गरेको छ।
नेपाल मानव अधिकार संगठन काभ्रेका अध्यक्ष राजु सिग्देलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष कृष्णबहादुर श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियो भने सचिव गीता तिमल्सिनाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
कार्यक्रमको उद्देश्यबारे जानकारी दिँदै अध्यक्ष सिग्देलले काभ्रे जिल्लामा मानव अधिकारको क्षेत्रमा अझै धेरै चुनौती रहेको उल्लेख गर्दै सबैको सहयोग र सहकार्यबाट संगठनलाई प्रभावकारीरूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रमका प्रमुख अतिथि नेपाल मानव अधिकार संगठनका केन्द्रीय अध्यक्ष इन्द्रप्रसाद अर्यालले नेपालमा मानव अधिकारको परिभाषा फरक ढंगले प्रस्तुत हुने गरेको उल्लेख गर्दै संगठन मानव मात्रको हितका लागि सधैं क्रियाशील रहेको बताउनुभयो । उहाँले कुनै व्यक्तिगत स्वार्थभन्दा माथि उठेर संगठनमा आबद्ध भई समाजका लागि काम गर्नुपर्ने धारणा राख्दै लोकतान्त्रिक प्रणालीमाथि हुने प्रहारलाई रोक्न संगठन सक्रिय रहेको बताउनुभयो ।
सम्मानित व्यक्तित्व पुनम जोशीले नेपाल परिवार नियोजन संघ काभ्रेको अध्यक्षको जिम्मेवारीसँगै चुनौती पनि थपिएको बताउँदै सबैसँग सहकार्य गर्दै जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
त्यसैगरी सम्मानित गोविन्द घिमिरेले सम्मानका लागि आयोजकप्रति आभार व्यक्त गर्नुभयो । कार्यक्रममा बोल्दै नवराज रायमाझीले नेपाल मानव अधिकार संगठनले मानव अधिकार संरक्षण र नागरिकको हकहितका लागि गर्दै आएका कार्यको प्रशंसा गर्दै संगठनका कमजोरी भए सुधार गर्दै अझ प्रभावकारीरूपमा अघि बढ्न सुझाव दिनुभयो । साथै उहाँले कार्यक्रम सफलताको शुभकामना पनि व्यक्त गर्नुभयो ।
कार्यक्रमका अवसरमा नेपाल मानव अधिकार संगठन जिल्ला शाखा, काभ्रेका नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो । सम्मान तथा प्रमाणपत्र वितरणसहित सम्पन्न उक्त कार्यक्रम बनेपामा आयोजना गरिएको थियो ।
प्रतिक्रिया