सिन्धुपाल्चाेक। मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले स्थानीय सम्पदा र संस्कृति समुदायकै पहिचान तथा धरोहर भएकाले यसको संरक्षण भावी पुस्ताका लागि अत्यावश्यक रहेको बताएका छन् ।
युनेस्को नेपालले मेलम्चीमा आयोजना गरेको सम्पदा संरक्षणसम्बन्धी कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै प्रमुख तामाङले स्थानीय पाठ्यक्रममार्फत मेलम्चीको सम्पदा र सांस्कृतिक ज्ञान विद्यालय तहसम्म पुर्याउने प्रयास अघि बढाइएको जानकारी दिनु भएको थियो।
उहाँले सम्पदा केवल भौतिक संरचना मात्र नभइ समुदायको आत्मा हो भन्दै आगामी पुस्ताले यसको मूल्य बुझुन् र गर्व गर्न सकुन् भन्ने उद्देश्यले संरक्षणलाई प्राथमिकतामा राखिएको बताउनु भयो।

उपप्रमुख उमा प्रधानले यस्ता कार्यक्रमहरूले समुदायमा सम्पदाप्रतिको अपनत्व, जिम्मेवारी र संरक्षण चेतनामा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिन् । उनले स्थानीय सहभागिताबिना कुनै पनि संरक्षण प्रयास दीगो हुन नसक्ने भन्दै यस्ता पहल निरन्तर हुन आवश्यक रहेको बताइन् ।

कार्यक्रम युनेस्को नेपालकी सचिवालय सचिव डा. दिव्या दवाडीको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रमले मेलम्ची क्षेत्रको सांस्कृतिक सम्पदा संरक्षणमा स्थानीय तह, शिक्षा र अन्तर्राष्ट्रिय संस्थाबीचको सहकार्यलाई थप सुदृढ बनाएको आयोजकहरूले जनाएका छन् ।
प्रतिक्रिया