• २०८३ असार ३१ | Wed, 15 Jul 2026

मेलम्चीमा रहेकाे सूर्यमुखी साना किसान कृषि सहकारीको २० औं साधारणसभा सम्पन्न

मेलम्चीमा रहेकाे सूर्यमुखी साना किसान कृषि सहकारीको २० औं साधारणसभा सम्पन्न

सिन्धुपाल्चाेक । सूर्यमुखी साना किसान कृषि सहकारी संस्थाको २०औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम सहकारीका अध्यक्ष मित्रलाल चौलागाईंको अध्यक्षतामा सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तामाङले सूर्यमुखी सहकारी बागमती प्रदेशकै उत्कृष्ट सहकारी भएको बताउनुभयो । उहाँले सूर्यमुखी अहिले चर्चामा रहेको उल्लेख गर्दै सहुलियत कर्जाका कारण कृषकमा गरेको लगानीले कृषकको आर्थिक जीवनमा सुधार हुँदै गएको बताउनुभयो ।

नगर प्रमुख तामाङले नियमित बचत गर्न र सहकारीलाई चलायमान बनाउनसमेत आग्रह गर्नुभयो । प्रमुख तामाङले भैंसी पाल्नका लागि पहिलो बर्ष १ वडाबाट ९ जना किसानलाई १ लाख अनुदान दिइएको, तालिम प्रदान, अनुदानका अन्य कार्यक्रम, नगदेबालीका लागि बिरुवा वितरण, टनेल लागि सहयोग गरिरहेको जिकिर गर्नुभयो । नगरपालिकाले कृषिको क्षेत्रमा उल्लेख्य काम गरेको भन्दै उहाँले यहाँको समस्या समाधानका लागि आगामी बजेटमा समेत समेट्न सकिने बताउनुभयो ।

हल गोरु पाल्ने किसानलाई ५ हजार अनुदान सहयोग गरेको लगायत नगरपालिकाले हालसम्म गरेका कामको बारेमा उल्लेख गर्दै प्रमुख तामाङले तीन तहका सरकारबीच सहकार्य आवश्यक रहेकोसमेत बताउनुभयो ।

सहकारीले संचालन गरेको डेरी प्रबर्द्धनका लागि आगामी दिनमा पालिका र संस्थाबीच सहकार्य र छलफल गरेर मात्र अगाडि बढ्ने बताउनुभयो । शिक्षा, सडक, पूर्वाधार, पर्यटन लगायतका क्षेत्रमा नगरपालिकाले गरेको कामको बारेमा प्रमुख तामाङले प्रष्ट पार्नुभयो । जग्गा खरिद गरेर किसानहरुबाट संकलित दूधबाट विभिन्न परिकार बनाउने गरि सहकारीले लगानी गरिरहेको बताउनुभयो । उहाँले यहाँ उत्पादन भएको वस्तु काठमाडौं शिवचोकमार्फत अहिले बजार ब्यवस्थापन गरिरहेको उल्लेख गर्नुभयो ।

७ प्रतिशत ब्याजमा ऋण लगानी गरिरहेको उल्लेख गर्दै अध्यक्ष चौलागाईंले अहिले पैसाको माग घटिरहेको बताउनुभयो । कृषि ब्यवसाय गर्ने किसान घट्दै गएको भन्दै उहाँले विदेश जानका लागि मात्र ऋण लिन आउने गरेको बताउनुभयो । राज्यसँग जोडिएको सहकारी भएकाले राज्यको पैसा ल्याएर अहिले किसानलाई वितरण गरिरहेको बताउनुभयो । उहाँले ब्यवसाय गर्न चाहने किसानलाई सहकारीको तर्फबाट आर्थिक प्राविधिक र ब्यवसायिक सहयोग गर्ने बताउनुभयो ।

अहिले सहकारीप्रति आकर्षक बढेको भन्दै बीमा कार्यक्रम अझै प्रभावकारी भएको अध्यक्ष चौलागाईंले बताउनुभयो । सहकारी संस्था भनेको नाफा कमाउनका लागि मात्र खोलिएको संस्था नभई शेयर सदस्यहरुको जीवनस्तर उकास्न र सेवा प्रवाहको लागि खोलिएको बताउनुभयो । उहाँले कृषिका लागि छुट्याइएको बजेट अन्यत्र लगानी नगर्नसमेत आग्रह गर्नुभयो । सहकारीको तर्फबाट नगरपालिकालाई पत्र बुझाएको भन्दै सहकारीको पत्रलाई ख्याल गर्नसमेत सुझाव दिनुभयो ।

कार्यक्रममा मेलम्ची २ का अध्यक्ष नगेन्द्रप्रसाद खतिवडा, वडा नम्बर १ का वडा सदस्य लालबहादुर तामाङ, समाजसेवी बद्रीप्रसाद चौलागाईं, मुस्कान पौडेल, बद्री चौलागाईं, जीवन शर्मा पौडेल, तपचुलि सामुदायिक कृषि सहकारी संस्थाका अध्यक्ष मदन थापा, इन्द्रावती साना किसान कृषि सहकारीका अध्यक्ष रामशरण गिरी, समाजसेवी नानिराम चौलागाईं लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । बक्ताहरुले सहकारीले गरेको कामको प्रशंसा गर्दै आगामी दिनमा पनि सफलताको लागि शुभकामना व्यक्त गर्नुभएको थियो । देशमै रोजगारीको अवसर सिर्जना गर्न सहकारीले खेलेको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो ।

कार्यक्रममा संस्थाका उपाध्यक्ष भिमसिंप्रसाद चौलागाईंले स्वागत मन्तव्य राख्नुभएको थियो भने सहकारीका प्रबन्धक गोविन्द नेपालले लेखा परिक्षण प्रतिवेदन प्रस्तुत गर्नुभयो । लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन ज्ञानेन्द्र घले र कमलमणि खनाल, आर्थिक प्रतिवेदन गोविन्दप्रसाद चौलागाईं, प्रगति प्रतिवेदन अध्यक्ष मित्रलाल चौलागाईंले प्रस्तुत गर्नुभयो । शेयर पुँजी १ करोड ९० लाख ९५ हजार रहेको सहकारीको जगेडा कोषमा ३ करोड १५ लाख २६ हजार रहेको छ ।

४ करोड ३५ लाख १८ हजार बैंक मौज्दात रहेको छ भने १ करोड ४८ लाख ३५ हजार नगद मौज्दात रहेको सहकारीका सहायक प्रबन्धक बिना पोखरेलले जानकारी दिनुभयो । हाल संस्थाको कुल शेयर सदस्य २ हजार ९३७ जना रहेको छ भने २१३ वटा समूह रहेको छ । कार्यक्रममा कार्यक्षेत्रभित्रका उत्कृष्ट बचतकर्ता, खुत्रुक्के बचत, एकल महिला बचत, उत्कृष्ट समूह, एसइइमा उत्कृष्ट छात्रा छात्र, उत्कृष्ट बचत समूहलाई नगद र प्रशंसापत्रसहित सम्मान गरिएको थियो । कार्यक्रम संस्थाका सचिव अनिलकुमार थापाले संचालन गर्नुभएको थियो ।



कालोटोपी कालोटोपी    
  • २०८२ पुष १९, शनिबार १४:४५
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP