काठमाडौं । वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपमा प्रदान गर्ने अधिकतम ब्याजदर जेठका लागि पनि घटाएका छन् । बैंकिङ प्रणालीमा पर्याप्त तरलता, कर्जाको मागमा सुस्तता तथा बजारमा लगानीयोग्य रकमको अधिकताका कारण अधिकांश बैंकले वैशाखको तुलनामा जेठमा ब्याजदर घटाएका हुन् ।
सार्वजनिक गरिएको ब्याजदरअनुसार जेठमा व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा बढी ब्याजदर एनएमबी बैंकले ४.८० प्रतिशत कायम गरेको छ । वैशाखमा यस बैंकले ५ प्रतिशत ब्याजदर दिएको थियो । जेठका लागि बैंकले सबैभन्दा धेरै ०.२० प्रतिशत बिन्दुले ब्याजदर घटाएको छ ।
त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकले ४.७५ प्रतिशत ब्याजदर यथावत राखेको छ । नबिल र प्रभु बैंकले ४.५५ प्रतिशत ब्याजदर कायम राखेका छन् । ग्लोबल आईएमई, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, लक्ष्मी सनराइज, माछापुच्छ्रे बैंक र सानिमा बैंकले ४.५० प्रतिशत ब्याजदर यथावत् राखेका छन् ।
एनआईसी एशिया बैंकले वैशाखको ४.७५ प्रतिशतबाट घटाएर ४.५० प्रतिशत कायम गरेको छ । हिमालयन र नेपाल बैंकले ४.५० प्रतिशतबाट घटाएर ४.२५ प्रतिशतमा झारेका छन् । नेपाल एसबीआई बैंकले ४.२५ प्रतिशत ब्याजदर यथावत् राखेको छ ।
कृषि विकास बैंक र प्राइम कमर्सियल बैंकले ४.१५ प्रतिशत ब्याजदर कायम राखेका छन् भने सिटिजन्स बैंक इन्टरनेसनलले ४.१५ प्रतिशतबाट घटाएर ४.१० प्रतिशत कायम गरेको छ । एभरेस्ट बैंक र सिद्धार्थ बैंकले ४.०५ प्रतिशत ब्याजदर यथावत राखेका छन् । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले ४.१० प्रतिशतबाट घटाएर ४.०० प्रतिशतमा झारेको छ भने कुमारी बैंकले ४.०५ प्रतिशतबाट घटाएर ३.९६ प्रतिशत कायम गरेको छ ।
जेठका लागि अधिकांश बैंकले ब्याजदर घटाएका छन् भने केही बैंकले पुरानै दर कायम राखेका छन् । निक्षेपको ब्याजदर घट्दै जाँदा बचतकर्ताले पाउने प्रतिफल घट्ने भए पनि लागत घट्ने भएकाले कर्जाको ब्याजदर पनि घट्छ । यसले ऋणीलाई राहत पुग्न देखिन्छ ।न्युज २४ दैनिकबाट
प्रतिक्रिया