सिन्धुपाल्चोक । हेलम्बु गाउँपालिकाले सामुदायिक विद्यालयमा विद्यार्थीलाई व्यवहारिक शिक्षा, पोषण तथा आत्मनिर्भर जीवनशैलीसँग जोड्ने उद्देश्यले ‘किचन गार्डेन’ (भान्सा बगैँचा) कार्यक्रम सुरू गरेको छ ।
गाउँपालिकाले विद्यालय परिसरमै तरकारी तथा अन्य खाद्यबाली उत्पादन गर्ने व्यवस्था मिलाएर विद्यार्थीलाई सैद्धान्तिक शिक्षासँगै व्यवहारिक कृषि सीप सिकाउने अभियान थालेको हो । यस कार्यक्रमबाट विद्यार्थीमा श्रमप्रतिको सम्मान, स्वस्थ खानपानको बानी तथा स्थानीय स्रोत–साधनको सदुपयोग गर्ने संस्कार विकास हुने अपेक्षा गरिएको छ ।
हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाका अनुसार किचन गार्डेन कार्यक्रम विद्यालय शिक्षालाई जीवनोपयोगी, सीपमूलक र उत्पादनमुखी बनाउने महत्वपूर्ण अभ्यास हो । उहाँले शिक्षासँगै सीप, पोषण र आत्मनिर्भरताको अवधारणालाई विद्यालय तहबाटै विकास गर्न पालिका प्रतिबद्ध रहेको बताउनुभयो ।
कार्यक्रममार्फत विद्यालयमा उत्पादन भएका तरकारीलाई दिवा खाजा तथा पोषण कार्यक्रमसँग जोड्ने, विद्यार्थीलाई आधुनिक तथा व्यवहारिक कृषि प्रविधिबारे जानकारी गराउने र स्थानीयस्तरमै उत्पादनप्रति आकर्षित गर्ने लक्ष्य राखिएको गाउँपालिकाले जनाएको छ ।
हेलम्बु गाउँपालिकाको यो पहललाई विद्यालय शिक्षालाई व्यवहारिक, उत्पादनमुखी र पोषणमैत्री बनाउने उत्कृष्ट अभ्यासका रूपमा हेरिएको छ ।
प्रतिक्रिया