काठमाडौँ । आज पनि देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
अहिले देशका हिमाली तथा पहाडी भागमा सामान्यतया बदली रहेको छ भने तराईमा आंशिक बदली छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक,दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो हिमाली तथा पहाडी भागमा सामान्यतया बदली रहने र तराईमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । हिमाली तथा पहाडी भेगका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ ।
बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थान तथा कोशी, मधेस र सुदूरपश्चिम प्रदेशका तराईका एकदुई स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी प्रदेशका पहाडी भाग तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भागका एकदुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना छ ।
राति पनि देशभर सामान्यतया बदली रहने पूर्वानुमान छ । हिमाली तथा पहाडी भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ ।
यसैगरी, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेस प्रदेशका तराईका एकदुई स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
प्रतिक्रिया