• २०८३ कार्तिक ४ | Tue, 20 Oct 2026

धुलिखेल-३ कुत्तालमा गुम्बा निर्माण हुँदै, धार्मिक पर्यटनको नयाँ गन्तव्य बन्ने अपेक्षा

धुलिखेल-३ कुत्तालमा गुम्बा निर्माण हुँदै, धार्मिक पर्यटनको नयाँ गन्तव्य बन्ने अपेक्षा

ज्ञानमणि नेपाल कालाेटाेपी
धुलिखेल । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–३ कुत्तालमा नयाँ गुम्बा निर्माण हुने भएको छ । निर्माण हुन लागेको गुम्बाको डिजाइन सार्वजनिक गरिएको छ । कुत्ताल गाउँमा निर्माण हुने गुम्बाको निर्माण तथा संरक्षणका लागि येलो मोनास्ट्रीको सहयोग र समर्थन रहने बताइएको छ । स्थानीय धार्मिक तथा सांस्कृतिक पहिचानलाई संरक्षण गर्दै गाउँमा आध्यात्मिक गतिविधि विस्तार गर्ने उद्देश्यले गुम्बा निर्माण गर्न लागिएको हो ।

गुम्बा निर्माणको पहलसँगै स्थानीयवासीमा उत्साह बढेको छ । गुम्बा निर्माणमा कान्छीमाया तामाङ फाउन्डेशनले महत्वपूर्ण सहकार्य गरेको फाउन्डेशनका अध्यक्ष दिलबहादुर थोकरले जानकारी दिनुभयो । उहाँका अनुसार गुम्बा निर्माणले स्थानीय धार्मिक तथा सांस्कृतिक गतिविधिलाई व्यवस्थित बनाउन सहयोग पुग्नेछ । ‘आफ्नै गाउँमा गुम्बा निर्माणमा योगदान गर्न पाउनु गर्वको विषय भएको बताउँदै उहाँले निर्माणपछि यसको संरक्षण, विकास तथा आध्यात्मिक गतिविधिलाई निरन्तर अगाडि बढाउने जिम्मेवारी आफूमा रहेको बताउनुभयाे । यसका लागि करिब ३ कराेड जति लगानी हुने पनि उहाँले जानकारी दिनुभयाे ।

धार्मिक पर्यटनको सम्भावना
प्राकृतिक सौन्दर्य, तामाङ समुदायको मौलिक संस्कृति र धार्मिक परम्पराले समृद्ध कुत्तालमा गुम्बा निर्माण सम्पन्न भएपछि यस क्षेत्रको धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ । गुम्बामा नियमित पूजा, प्रार्थना, धार्मिक अनुष्ठान, ध्यान तथा विभिन्न आध्यात्मिक कार्यक्रम सञ्चालन गर्न सकिने भएकाले स्थानीयवासीसँगै बाहिरी क्षेत्रका श्रद्धालु तथा पर्यटकलाई समेत आकर्षित गर्न सकिने सम्भावना छ ।

गुम्बालाई धार्मिक स्थलका रूपमा मात्र नभई स्थानीय कला, संस्कृति, परम्परा र जीवनशैलीसँग जोडेर विकास गर्न सके कुत्ताललाई धार्मिक–सांस्कृतिक पर्यटनको गन्तव्यका रूपमा स्थापित गर्न सकिने स्थानीयको विश्वास छ । गुम्बा निर्माणसँगै आसपासको पदमार्ग, प्राकृतिक दृश्यावलोकन, स्थानीय खानपान, तामाङ संस्कृति र परम्परागत जीवनशैलीलाई पर्यटनसँग जोड्न सके स्थानीयस्तरमा रोजगारी तथा आयआर्जनका अवसरसमेत सिर्जना हुन सक्ने देखिन्छ ।

विशेषगरी धुलिखेल आउने आन्तरिक तथा बाह्य पर्यटकलाई कुत्तालसम्म पुर्‍याउने गरी पर्यटन पूर्वाधारको विकास गर्न सके यस क्षेत्रको पर्यटन गतिविधि थप विस्तार हुन सक्ने सम्भावना छ । स्थानीय धार्मिक आस्था, सांस्कृतिक पहिचान र पर्यटन विकासलाई एकैसाथ अघि बढाउने गरी गुम्बाको संरक्षण तथा व्यवस्थापन गर्न सके कुत्तालको पहिचानलाई थप स्थापित गर्न सकिने अपेक्षा गरिएको छ ।



कालोटोपी कालोटोपी    
  • २०८३ श्रावण २४, आईतवार २०:३७
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP