काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत विभिन्न तहका अधिवेशनको संशोधित कार्यतालिका सार्वजनिक गरेको छ । केन्द्रीय निर्वाचन समितिले भाद्र २ गते जारी गरेको प्रेस विज्ञप्तिमार्फत महाधिवेशनको मूल मिति यथावत् राख्दै विभिन्न तहका अधिवेशनको परिमार्जित कार्यतालिका सार्वजनिक गरेको हो ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०८२ चैत ११ गतेको निर्णयअनुसार २०८३ असोज १६ देखि १९ गतेसम्म १५औँ केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने गरी यसअघि नै निर्वाचन कार्यतालिका प्रकाशित गरिएको थियो । सोहीअनुसार निर्वाचन प्रतिनिधि तोक्ने तथा अभिमुखीकरण कार्यक्रमसमेत सुरु भइसकेको समितिले जनाएको छ । केन्द्रीय निर्वाचन समितिका अनुसार निर्वाचन प्रतिनिधिलाई भाद्र २ देखि १० गतेसम्म काठमाडौं उपत्यका तथा उपत्यकाबाहिर अभिमुखीकरण तालिम प्रदान गरिनेछ । निर्वाचन अधिकृतलाई भाद्र ११ गते जिल्लामा खटाइने तथा वडामा निर्वाचन प्रतिनिधि भाद्र १५ गते खटाइने कार्यतालिका छ ।
त्यस्तै, वडामा अभिमुखीकरण तालिम भाद्र १६ देखि २० गतेसम्म सञ्चालन हुनेछ । सम्पन्न हुन बाँकी नेपाली जनसम्पर्क समितिका अधिवेशनहरू भाद्र मसान्तभित्र सम्पन्न गरिसक्ने कार्यतालिकामा उल्लेख छ । कांग्रेसले गाउँ–नगर वडा अधिवेशन भाद्र २४ गते गर्ने भएको छ । उक्त दिन ६ हजार ७४३ वटै वडामा अधिवेशन गरी क्षेत्रीय प्रतिनिधि चयन गरिनेछ । गाउँ–नगरपालिका अधिवेशन भाद्र २७ गते तथा प्रदेशसभा क्षेत्रीय अधिवेशन भाद्र ३१ गते सम्पन्न गर्ने कार्यतालिका सार्वजनिक गरिएको छ ।
त्यसैगरी, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन तथा एकमात्र निर्वाचन क्षेत्र भएका जिल्लाको जिल्ला अधिवेशन असोज ३ गते हुनेछ । सो अधिवेशनबाट महाधिवेशन प्रतिनिधि चयन तथा कार्यसमिति निर्वाचन गरिनेछ । जिल्ला अधिवेशन असोज ७ गते, प्रदेश अधिवेशन असोज १० गते तथा नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन असोज १६, १७, १८ र १९ गते गर्ने कार्यतालिका रहेको छ।
विज्ञप्तिमा महाधिवेशनको पूर्वनिर्धारित मिति यथावत् राख्दै अन्य तहगत अधिवेशनको कार्यक्रमको विस्तृत समयतालिका परिमार्जन गरिएको जनाइएको छ । पार्टीभित्र व्यापक सहभागिताका लागि संवाद र सहमतिको वातावरण निर्माण गर्न तथा वर्षायामका कारण वडा, गाउँ, नगर, उपमहानगर, महानगरपालिका र क्षेत्रीय अधिवेशनमा पर्न सक्ने प्रतिकूल प्रभावलाई ध्यानमा राखी कार्यतालिका परिमार्जन गरिएको कांग्रेसले जनाएको छ । केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काद्वारा जारी विज्ञप्तिमा नेपालको संविधान, प्रचलित कानुन तथा पार्टी विधानको व्यवस्थालाई समेत ध्यानमा राखेर निर्वाचन प्रक्रिया अगाडि बढाइएको उल्लेख छ ।
यसअघि नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले १५औँ महाधिवेशन असोज १६ देखि १९ गतेसम्म गर्ने निर्णय गरेको थियो । विज्ञप्तिमा उक्त मिति सम्मानित सर्वोच्च अदालतको २०८३ वैशाख ४ गतेको फैसलामा समेत उल्लेख रहेको जनाइएको छ । कांग्रेसले अमेरिका, फ्रान्स, नेदरल्याण्ड, माल्टा, जापान, दक्षिण कोरियालगायत १५ वटा देशमा नेपाली जनसम्पर्क समितिका अधिवेशन सम्पन्न भइसकेको पनि जनाएको छ ।
प्रतिक्रिया