काभ्रेपलाञ्चोक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काभ्रेपलाञ्चोकले जिल्लामा देखिएको ग्यास अभाव तथा सम्भावित कालोबजारीप्रति जिल्ला प्रशासन कार्यालयको गम्भीर ध्यानाकर्षण गराएको छ । पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरमा सडक भासिएपछि ठूला ग्यास बुलेट तथा हेभी सामान बोकेका सवारीसाधनको आवागमन प्रभावित हुँदा त्यसको प्रत्यक्ष असर काभ्रेपलाञ्चोकमा ग्यास आपूर्तिमा परेको जनगुनासो बढ्दै गएको रास्वपाले जनाएको छ ।
आपूर्ति व्यवस्थामा देखिएको समस्यालाई बहाना बनाएर केही व्यवसायी तथा बिचौलियाले कृत्रिम अभाव सिर्जना गर्ने, तोकिएको मूल्यभन्दा बढी रकम असुल्ने तथा कालोबजारी गर्ने गतिविधि भइरहेको गुनासोप्रति पार्टीले गम्भीर चासो व्यक्त गरेको छ ।
विपद् तथा विषम परिस्थितिमा आम नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको अत्यावश्यक वस्तु ग्यासको कृत्रिम अभाव र कालोबजारी कुनै पनि हालतमा स्वीकार्य नहुने रास्वपाले जनाएको छ ।
पार्टीले जिल्लाको वास्तविक ग्यास आपूर्ति अवस्थाको तत्काल पहिचान गरी पर्याप्त आपूर्ति सुनिश्चित गर्न, बजार अनुगमनलाई प्रभावकारी बनाउन तथा कृत्रिम अभाव र कालोबजारी गर्ने जो–कोहीमाथि प्रचलित कानुनबमोजिम कडा कारबाही गर्न जिल्ला प्रशासन कार्यालयसँग आग्रह गरेको छ ।
साथै, विपद्को कठिन समयमा उपभोक्तालाई थप समस्या पर्ने गरी कृत्रिम अभाव सिर्जना नगर्न, तोकिएको मूल्यभन्दा बढी रकम नलिन तथा मानवीय संवेदनशीलतालाई ध्यानमा राख्दै जिम्मेवार ढंगले व्यवसाय सञ्चालन गर्न रास्वपा काभ्रेपलाञ्चोकले सम्बन्धित व्यवसायीहरूलाई आग्रह गरेको रास्वपा जिल्ला सचिव जीएन सापकाेटाले बताउनुभयाे ।
प्रतिक्रिया