धुलिखेल । कृषि उत्पादनमा विषादीको प्रयोग बढ्दै गएसँगै यसको सुरक्षित र व्यवस्थित प्रयोगबारे कृषकलाई सचेत गराउने उद्देश्यले धुलिखेल नगरपालिका–१० मा विषादी सचेतना कार्यक्रम सम्पन्न भएको छ । धुलिखेल नगरपालिका वडा नं. १० को आयोजना तथा ज्योति मिर्मिरे सामूहिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संयोजनमा वडा नं. १० का कृषक सदस्यहरूलाई लक्षित गरी शनिबार कार्यक्रम सञ्चालन गरिएको हो ।
कार्यक्रममा कृषिमा विषादी प्रयोग गर्दा सही विषादीको छनोट, आवश्यक मात्राको प्रयोग, सुरक्षित प्रयोग विधि, भण्डारण तथा विषादी प्रयोगपछि अपनाउनुपर्ने सावधानीका विषयमा कृषकलाई जानकारी दिइएको थियो । कार्यक्रममा रेशम तथा च्याउ विकास केन्द्रका प्राविधिक निराजन पाण्डेले विषादीको सुरक्षित प्रयोग, मानव स्वास्थ्य तथा वातावरणमा पर्न सक्ने असर र विषादी प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीका विषयमा प्राविधिक जानकारी तथा सहजीकरण गर्नुभएको थियो ।
कृषकलाई विषादीको प्रयोग पूर्णरूपमा निषेध गर्नेभन्दा पनि आवश्यक अवस्थामा यसको सही छनोट, सही मात्रा र सुरक्षित प्रयोगबारे व्यवहारिक ज्ञान दिनु महत्वपूर्ण रहेको कार्यक्रममा जोड दिइएको थियो । विषादीको अव्यवस्थित प्रयोगले कृषकको स्वास्थ्यसँगै उपभोक्ता र वातावरणमा समेत असर पार्न सक्ने भएकाले यसतर्फ विशेष सावधानी अपनाउनुपर्ने बताइएको थियो । कार्यक्रमको सभापतित्व धुलिखेल नगरपालिका–१० का वडा अध्यक्ष गोविन्दप्रसाद उपाध्यायले गर्नुभएको थियो । उहाँले कार्यक्रममा सहभागी कृषक सदस्यहरूलाई प्रशिक्षणबाट प्राप्त ज्ञानलाई व्यवहारमा उतार्दै सुरक्षित, स्वस्थ तथा व्यावसायिक कृषि उत्पादनमा जोड दिन आग्रह गर्नुभयो ।
त्यस अवसरमा ज्योती मिर्मिरे सामूहिक साकोसका प्रमुख कार्यकारी अधिकृत गोपाल दाहालले संस्थाले आफ्ना सदस्य तथा समुदायको आर्थिक, सामाजिक र व्यावसायिक विकासका लागि सञ्चालन गर्दै आएका विभिन्न कार्यक्रमबारे जानकारी गराउनुभयो । उहाँले आगामी दिनमा समेत कृषक सदस्यसँग सहकार्य गर्दै कृषि क्षेत्रको विकासमा संस्थाले सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रम संस्थाका सदस्य सेवा विभाग प्रमुख पुरुषोत्तम दाहालले सञ्चालन गर्नुभएको थियो । कार्यक्रमले कृषकलाई विषादीको सुरक्षित प्रयोगसम्बन्धी प्राविधिक तथा व्यवहारिक ज्ञान प्रदान गर्नुका साथै स्वस्थ कृषि उत्पादन, कृषकको स्वास्थ्य सुरक्षा र वातावरण संरक्षणका विषयमा समेत सचेतना अभिवृद्धि गरेको आयोजकले जनाएको छ ।
प्रतिक्रिया