• २०८३ कार्तिक ४ | Tue, 20 Oct 2026

जिल्ला सहकारी संघ काभ्रेद्वारा रक्तदान तथा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम

जिल्ला सहकारी संघ काभ्रेद्वारा रक्तदान तथा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम

काभ्रेपलाञ्चोक । सामाजिक उत्तरदायित्वलाई संस्थागत कार्यको महत्वपूर्ण हिस्साका रूपमा अघि बढाउँदै जिल्ला सहकारी संघ लि., काभ्रेले धुलिखेल नगरपालिका–५ स्थित श्रीखण्डपुर चोकमा बृहत् रक्तदान एवं निःशुल्क स्वास्थ्य शिविर बिहीबार सम्पन्न गरेको छ । मानवीय सेवाका लागि रक्तदान गर्ने संस्कारको विकास, समुदायमा स्वास्थ्य सचेतना अभिवृद्धि तथा सर्वसाधारणलाई आधारभूत स्वास्थ्य परीक्षणको सहज पहुँच पुर्‍याउने उद्देश्यले आयोजित कार्यक्रममा उत्साहजनक सहभागिता रहेको थियो ।

जिल्ला सहकारी संघ लि., काभ्रेको सामुदायिक विकास तथा अतिरिक्त क्रियाकलाप उपसमितिको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । संघले आफ्नो नियमित संस्थागत गतिविधिसँगै सामाजिक उत्तरदायित्वका कार्यक्रममार्फत समुदायसँग प्रत्यक्ष रूपमा जोडिने उद्देश्यले यस्तो कार्यक्रम सञ्चालन गरेको जनाएको छ ।

कार्यक्रममा ६२ जना रक्तदाताले रक्तदान गरेका थिए भने करिब ९० जनाले निःशुल्क स्वास्थ्य परीक्षण गराएका थिए । स्वास्थ्य शिविरमा सुगर, प्रेसरलगायतका स्वास्थ्य परीक्षणका साथै निःशुल्क स्किन टेस्ट तथा स्वास्थ्य परामर्श सेवा उपलब्ध गराइएको थियो । स्वास्थ्यसम्बन्धी सामान्य समस्या पहिचान तथा आवश्यक परामर्श प्राप्त गर्न पाउँदा स्थानीयवासी तथा कार्यक्रममा सहभागी सर्वसाधारण लाभान्वित भएका थिए ।

रक्तदान गर्ने रक्तदाताहरूलाई संघको तर्फबाट मायाको चिनो तथा प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो । रक्तदान जीवन बचाउने महत्वपूर्ण मानवीय कार्य भएकाले रक्तदाताहरूको सहभागितालाई कार्यक्रमको प्रमुख उपलब्धिका रूपमा लिइएको छ। कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखा र बनेपा हेल्थ केयरको प्राविधिक सहयोग रहेको थियो । लायन्स क्लब अफ श्रीखण्डपुरले कार्यक्रमको संयोजन गरेको थियो भने रोटरी क्लब अफ पनौती विशेष सहयोगीका रूपमा रहेको थियो ।

त्यस्तै, कार्यक्रम सफल बनाउन ब्लोदान काभ्रे, काभ्रे महिला उद्यमी मञ्च, सौन्दर्य कला व्यवसायी संघ काभ्रे, कस्मेटिक व्यवसाय संघ काभ्रे, बृहत् बहुउद्देश्यीय सहकारी संस्था लि., लक्ष्मी महिला साकोस, सनलाइट साकोस, रोटरी क्लब अफ धुलिखेल, लायन्स क्लब अफ काठमाडौं पूर्व क्षितिज काभ्रे, लायन्स क्लब अफ काभ्रे बनेपा, लायन्स क्लब अफ पनौती, लायन्स क्लब अफ बनेपा सिटी, लायन्स क्लब अफ बनेपा भ्याली, काभ्रे लेडिज जेसिज, हलि नेवा गुठी काभ्रे मिसा कचा लगायतका संघसंस्था तथा सामाजिक क्षेत्रका संस्थाहरूको सहयोग र सहभागिता रहेको थियो ।

कार्यक्रमबारे जानकारी दिँदै जिल्ला सहकारी संघ लि., काभ्रेका का.मु. प्रमुख कार्यकारी अधिकृत सुजित श्रेष्ठले संघको भूमिका सहकारी क्षेत्रको संस्थागत विकास र प्रवर्द्धनमा मात्र सीमित नरहेको बताउनुभयो । संघले आफ्नो कार्यक्षेत्रभित्र सामाजिक सरोकारका विषयलाई समेत प्राथमिकतामा राख्दै समुदायसँग प्रत्यक्ष सम्बन्ध स्थापित गर्ने उद्देश्यले विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको उहाँले उल्लेख गर्नुभयो । उहाँले कार्यक्रमलाई सफल बनाउन विभिन्न संघसंस्था, सहकारी संस्था, क्लब, स्वास्थ्य संस्था तथा स्थानीय समुदायबाट प्राप्त सहयोग महत्वपूर्ण रहेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिनुभयो।

जिल्ला सहकारी संघ लि., काभ्रेका अध्यक्ष अमन पोटे श्रेष्ठले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्णप्रति विशेष धन्यवाद व्यक्त गर्नुभयो । उहाँले रक्तदाता, स्वास्थ्यकर्मी, प्राविधिक टोली, स्वयंसेवक, सहकार्य गर्ने विभिन्न संघसंस्था तथा स्थानीय समुदायको सहभागिताले कार्यक्रम सफल भएको बताउनुभयो । उहाँले रक्तदानजस्तो मानवीय सेवामा सहभागी भएका सबै रक्तदाताप्रति विशेष आभार व्यक्त गर्दै आगामी दिनमा पनि सामाजिक सेवाका कार्यक्रममा सबै पक्षको निरन्तर सहयोग आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रमका संयोजक पूर्णसागर रञ्जितले संघले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न जनमुखी कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो । उहाँले समुदायको आवश्यकता र स्थानीय प्राथमिकताका आधारमा स्वास्थ्य, शिक्षा, वातावरण, मानवीय सेवा तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै कार्यक्रमको दायरा विस्तार गरिने जानकारी दिनुभयो । संघले आगामी दिनमा पनि सहकार्य र साझेदारीमा आधारित कार्यक्रमलाई प्राथमिकता दिने उहाँको भनाइ थियो ।



कालोटोपी कालोटोपी    
  • २०८३ आश्विन २२, बिहीबार १७:१६
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP