काभ्रे । चाडपर्वका बेला दैनिक उपभोग्य वस्तु सहज र सहुलियत मूल्यमा उपलब्ध गराउने उद्देश्यले काभ्रेको मण्डनदेउपुर नगरपालिका–७, कुन्तावेँसीमा सुपथ मूल्य पसल सञ्चालन हुने भएको छ । साना किसान कृषि सहकारी संस्था लि. मण्डनदेउपुरले असोज ३० गतेदेखि पसल सञ्चालनमा ल्याउन लागेको हो । सहकारीले सोही दिनदेखि किसान हाट बजारसमेत सञ्चालन गर्ने तयारी गरेको छ ।
दशैँ, तिहार र छठलगायत चाडपर्वलाई लक्षित गरी सुरु गर्न लागिएको सुपथ मूल्य पसललाई निकट भविष्यमा वर्षभरि नै सञ्चालन गर्ने सहकारीको लक्ष्य छ । पसलमा दैनिक उपभोगका अत्यावश्यक सामग्री उपलब्ध हुनेछन् । अन्य पसलको तुलनामा विशेष छुटमा सामान उपलब्ध गराउने योजना रहे पनि वस्तुअनुसारको मूल्य सूची भने तय हुन बाँकी छ । सहकारीका अध्यक्ष सुमन नेपालका अनुसार सुपथ मूल्य पसल साल्ट ट्रेडिङ कर्पोरेसनको समन्वयमा सञ्चालन गर्न लागिएको हो । बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य र खर्चको चाप खेपिरहेका उपभोक्तालाई सहुलियतमा सामान उपलब्ध गराउँदा राहत पुग्ने विश्वास सहकारीले लिएको छ ।
सुपथ मूल्य पसलसँगै सञ्चालन गर्न लागिएको किसान हाट बजारले स्थानीय कृषि उपजको बिक्रीवितरणमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ । हाट बजारमार्फत किसानले आफ्ना उत्पादन उपभोक्तासम्म पुर्याउने अवसर पाउने र उपभोक्ताले स्थानीय कृषि उपज सहज रूपमा खरिद गर्न सक्नेछन्। यसबाट किसान र उपभोक्ता दुवै लाभान्वित हुने सहकारीको अपेक्षा छ ।
मण्डनदेउपुर नगरपालिकामा रहेका पाँचवटा सहकारी संस्था एकीकरण भएर असोज २५ गते ‘साना किसान कृषि सहकारी संस्था लि. मण्डनदेउपुर’ गठन भएको थियाे । एकीकृत सहकारीको संयुक्त साधारणसभाले सुमन नेपालको नेतृत्वमा नयाँ सञ्चालक समिति चयन गरेको छ। एकीकरण हुने संस्थामा चण्डेनीमण्डन साना किसान कृषि सहकारी संस्था लि. (मण्डनदेउपुर–१०), कश्यपेश्वर तरकारी उत्पादक सहकारी संस्था लि. (मण्डनदेउपुर–७), नौबिसे कृषि सहकारी संस्था लि. (मण्डनदेउपुर–७), सफलता महिला साना किसान कृषि सहकारी संस्था लि. (मण्डनदेउपुर–५) र नवरत्न बचत तथा ऋण सहकारी संस्था लि. (मण्डनदेउपुर–७) रहेका छन् ।
पाँचवटा संस्थाको एकीकरणपछि बनेको सहकारीले सुरुवातमै सुपथ मूल्य पसल र किसान हाट बजारजस्ता कार्यक्रम अघि सारेको छ । यसले स्थानीय किसानको उत्पादनलाई बजारसँग जोड्न, कृषि उपजको बिक्रीवितरण सहज बनाउन र उपभोक्तालाई दैनिक आवश्यकताका वस्तु सहुलियतमा उपलब्ध गराउन योगदान पुर्याउने संस्थाका अध्यक्ष नेपालले कालाेटाेपी डटकमसँगकाे कुराकानीमा बताउनुभयाे ।
“हामी आफैँ गरौँ हाम्रो आर्थिक रूपान्तरण, समृद्ध मण्डनदेउपुर हाम्रो अभियान” भन्ने नारासहित अघि बढेको सहकारीले किसानमुखी कार्यक्रममार्फत स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने लक्ष्य लिएको छ । सहकारीका यी पहल प्रभावकारी रूपमा कार्यान्वयन हुन सके स्थानीय कृषि उत्पादनको बजारीकरण र उपभोक्ताको खर्च व्यवस्थापनमा सकारात्मक योगदान पुग्न सक्ने अपेक्षा गरिएकाे छ ।
र याे पनि पढाैँ
कुन्ताबेँसीमा कृषि हाटबजार सञ्चालन हुँदै, किसानका उत्पादनलाई बजारसँग जोड्ने लक्ष्य
प्रतिक्रिया