सिन्धुपाल्चोक । उपभोक्ताको स्वास्थ्य र अधिकारमाथि खेलबाड गर्दै व्यापारिक गतिविधि सञ्चालन गरेको पाइएपछि सिन्धुपाल्चोकमा १२ वटा होटल तथा खाद्यान्न पसलबाट एक लाख रुपैयाँ राजस्व संकलन गरिएको छ । जिल्ला बजार अनुगमन समितिले बाह्रबिसे नगरपालिका र बलेफी गाउँपालिकामा गरेको बजार अनुगमनका क्रममा विभिन्न कैफियत फेला पारेको हो ।
समितिले असोज २८ गते दुवै स्थानीय तहमा सञ्चालित होटल, रेस्टुरेन्ट तथा खाद्यान्न पसलसहित २० वटा व्यावसायिक फर्मको अनुगमन गरेको थियो । अनुगमनका क्रममा केही होटलमा सरसफाइको कमी रहेको, बासी तथा सडेगलेका खानेकुरा फ्रिजमा भण्डारण गरी बिक्रीका लागि राखिएको र म्याद नाघेका सामग्रीसमेत बिक्रीका लागि राखिएको पाइएको समितिले जनाएको छ ।
त्यस्तै, आवश्यक इजाजतपत्र नलिई मदिरा बिक्रीवितरण गर्ने गरेको पनि भेटिएको छ । खाद्यान्न तथा ग्यास पसलमा म्याद नाघेका सामग्री बिक्रीका लागि राखिएको र ग्यास बिक्री गर्दा निर्धारित मूल्यभन्दा बढी रकम असुल्ने गरेको पाइएको अनुगमन समितिले जनाएको छ ।
अनुगमनका क्रममा कैफियत भेटिएका १२ वटा होटल तथा खाद्यान्न पसलबाट एक लाख रुपैयाँ राजस्व संकलन गरिएको छ । यसैगरी, १३ हजार ५१० रुपैयाँ बराबरका म्याद नाघेका सामग्री जफत गरी नष्ट गरिएको छ ।

उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पार्न सक्ने खाद्यवस्तुको बिक्री, म्याद गुज्रिएका सामग्रीको कारोबार र निर्धारित मूल्यभन्दा बढी रकम असुल्ने प्रवृत्तिलाई नियन्त्रण गर्न बजार अनुगमन गरिएको समितिले जनाएको छ । उपभोक्ताको स्वास्थ्य तथा अधिकार संरक्षण गर्नुका साथै बजारमा गुणस्तरीय वस्तु र सेवा सुनिश्चित गर्न अनुगमनलाई प्रभावकारी बनाइएको समितिको भनाइ छ।
प्रतिक्रिया