बनेपा । सञ्चालकको नाम र ठेगाना नखुलेको तथा अर्काको उद्योगमा उत्पादन गरी ‘वेन वेन बियर इन्टरप्राइजेज, काठमाडौं’ उल्लेख गरेर बजारमा पठाउन तयार पारिएका भुजिया, दालमोठलगायत खाद्य पदार्थ काभ्रेपलाञ्चोकको बनेपाबाट बरामद गरिएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काभ्रेपलाञ्चोकले बनेपा नगरपालिका–१० पुलबजारस्थित उद्योगबाट विभिन्न खाद्य पदार्थ बरामद गरेको हो । बरामद गरिएका खाद्य पदार्थमा १५ केजी फ्राइड गेडागुडी, प्याकिङ गरिएका २५० प्याकेट स्पाइसी स्न्याक्स, प्याकिङ नगरिएका चिप्सका ६ बोरा र प्लास्टिकमा प्याक गरी सिल गरिएका १० बोरा खाद्य पदार्थ रहेका छन् ।
उद्योग सञ्चालकलाई मोबाइलमा सम्पर्क गर्न खोज्दा सम्पर्क हुन नसकेपछि उद्योगमा सिल गरिएको कार्यालयले जनाएको छ । खाद्य पदार्थ बरामद गरेपछि तिनको उत्पादन, गुणस्तर, लेबल तथा अन्य विवरणका विषयमा अनुसन्धान सुरु गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काभ्रेपलाञ्चोककी प्रमुख मनिषा चापागाईंले कालाेटाेपी डटकमसँगकाे कुराकानीमा जानकारी दिइन् ।
कार्यालयले पछिल्ला दिनमा काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकका विभिन्न बजार क्षेत्रमा खाद्य पदार्थको गुणस्तर, उत्पादन र बिक्री वितरणको अवस्थाबारे अनुगमनलाई तीव्रता दिँदै आएको छ ।
उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पार्न सक्ने खाद्य पदार्थको उत्पादन तथा बिक्री वितरणलाई व्यवस्थित बनाउन र खाद्य स्वच्छता कायम गर्न बजार अनुगमनलाई निरन्तरता दिइएको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया