भकुण्डेबेँसी । काभ्रेपलाञ्चोकको भकुण्डेबेँसीस्थित मेथिनकोट अस्पतालमा गर्भावस्थासँग सम्बन्धित उच्च रक्तचापको जटिलता र एम्नियोटिक तरलमा मेकोनियम देखिएकी गर्भवती महिलाको आपत्कालीन शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरिएको छ।
अस्पतालका अनुसार असोज ३० गते ३९ हप्ता ४ दिनको गर्भावस्थामा रहेकी महिलाको चिकित्सकीय मूल्याङ्कनपछि स्पाइनल एनेस्थेसियामार्फत आपत्कालीन तल्लो खण्डको सिजेरियन शल्यक्रिया (EmLSCS) गरिएको हो । सोही क्रममा द्विपक्षीय नली बाँध्ने शल्यक्रिया (BTL) समेत सम्पन्न गरिएको अस्पतालले जनाएको छ ।
शल्यक्रियामा डा. रचना उप्रेतीले मुख्य शल्यचिकित्सकको भूमिका निर्वाह गरेकी थिइन् भने डा. भावना काफ्लेले सहायक चिकित्सकका रूपमा सहयोग गरेकी थिइन् । त्यस्तै, बालरोग विशेषज्ञ डा. शेष्णा श्रेष्ठ, एनेस्थेसिया सेवामा राधेश्याम शाह तथा स्क्रब नर्स चन्दनी राना र सर्कुलेटिङ नर्स अर्चना लामाको सहभागिता रहेको थियो ।
अस्पताल परिवारले शल्यक्रियामा संलग्न सम्पूर्ण चिकित्सक, नर्सिङ कर्मचारी तथा स्वास्थ्यकर्मीप्रति आभार व्यक्त गर्दै आमा र नवजात शिशुको सुस्वास्थ्य, शीघ्र स्वास्थ्यलाभ तथा उज्ज्वल भविष्यको कामना गरेको छ ।
प्रतिक्रिया