बनेपा । काभ्रेपलाञ्चोकको बनेपामा ग्यास बुलेटले मोटरसाइकललाई ठक्कर दिँदा ९ वर्षीय बालकको मृत्यु भएको छ भने उनका बुबाआमा घाइते भएका छन् ।
बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित अरनिको राजमार्गमा शनिबार बिहान भएको दुर्घटनामा खोटाङको ऐँसेलुखर्क गाउँपालिका–६ का ९ वर्षीय जुवास बुढाथोकीको मृत्यु भएको हो ।
प्राप्त विवरणअनुसार असोज ३१ गते बिहान करिब ५:३० बजे काठमाडौंबाट बनेपातर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको HR38AL1634 नम्बरको ग्यास बुलेटले सोही दिशातर्फ गइरहेको बा.प्र.०७१ प ७०६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक २९ वर्षीय चन्द्र बुढाथोकी, उनकी २७ वर्षीया श्रीमती रेणुका राई र छोरा जुवास घाइते भएका थिए । घाइते तीनै जनालाई उपचारका लागि बनेपास्थित शिर मेमोरियल अस्पताल लगिएको थियो ।
अस्पतालमा उपचारका क्रममा चिकित्सकले बिहान ६ बजे बालक जुवासलाई मृत घोषणा गरेका थिए । उनका बुबा र आमाको उपचार भइरहेको जनाइएको छ । दुर्घटनामा संलग्न दुवै सवारीसाधन तथा ग्यास बुलेटका चालक भारत निवासी करिब ३७ वर्षीय शिवजी रामलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ।
प्रतिक्रिया