धुलिखेल । काभ्रेको धुलिखेलस्थित धुलिखेल अस्पतालको उन्नत स्ट्रोक केन्द्रले विश्व स्ट्रोक संगठन (डब्लुएसओ) बाट प्राप्त प्रमाणीकरणको औपचारिक प्रमाणपत्र हासिल गरेको छ। यस वर्षको सुरुमै प्रमाणीकरण प्राप्त गरेको अस्पताललाई हाल आयोजित समारोहमा प्रमाणपत्र औपचारिक रूपमा हस्तान्तरण गरिएको हो।
अस्पतालका अनुसार यो उपलब्धि अन्तर्राष्ट्रिय मान्यतामा सीमित नभई सबै नागरिकलाई गुणस्तरीय स्ट्रोक उपचार (मस्तिष्कघात) सेवा उपलब्ध गराउने प्रतिबद्धताको महत्वपूर्ण कडी हो। विशेषगरी आर्थिक रूपमा विपन्न तथा स्वास्थ्य सेवाको पहुँचबाट वञ्चित समुदायलाई लक्षित गरी उपचार सेवा थप सहज बनाउने अस्पतालको उद्देश्य रहेको कालाेटाेपी डटकमलाई प्राप्त समाचारमा उल्लेख छ।
अस्पतालले गुणस्तरीय स्वास्थ्य सेवा सबैको पहुँचमा पुग्नुपर्ने मान्यता राख्दै आएको जनाएको छ। उपचारको गुणस्तर कायम राख्नुका साथै आर्थिक अवस्था र भौगोलिक अवस्थितिका कारण कसैले पनि विशेष उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले काम गरिरहेको अस्पतालको भनाइ छ।
प्रमाणीकरणले अस्पतालको स्ट्रोक उपचार सेवाको गुणस्तर र सेवालाई थप प्रभावकारी बनाउने प्रयासलाई अन्तर्राष्ट्रिय स्तरमा पहिचान दिलाएको छ। अस्पतालले यस उपलब्धिसँगै नेपालका नागरिकका लागि विशेष उपचार सेवा थप पहुँचयोग्य, समान र किफायती बनाउने प्रतिबद्धता पनि दोहोर्याएको छ। अस्पतालले स्ट्रोक उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीको योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि उच्चस्तरीय उपचार सेवा प्रदान गर्ने जनाएको छ।
प्रतिक्रिया