ज्ञानमणि नेपाल कालाेटाेपी
काभ्रेपलाञ्चोक । धुलिखेल अस्पतालमा आगामी भदौ १ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम पुनः सुचारु हुने भएको छ । स्वास्थ्य बीमा सेवा पुनः सञ्चालनमा आउने भएपछि लामो समयदेखि समस्यामा परेका हजारौँ सेवाग्राहीलाई राहत हुने भएको छ ।
स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा थैलीमा भएको आर्थिक तथा प्राविधिक सीमितताका कारण स्थगित भएको स्वास्थ्य बीमा कार्यक्रमलाई गत असार ३० गते परिमार्जन गरेको तथा आर्थिक सहजता र भुक्तानीको सुनिश्चितताबारे आश्वासन प्राप्त भएकाले सेवा पुनः सञ्चालन गर्न लागिएको धुलिखेल अस्पताल प्रशासनले जनाएको छ ।
अस्पतालका अनुसार भदौ १ गतेदेखि हाललाई बहिरंग सेवा (ओपीडी) मा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन हुनेछ । नेपाल सरकारका निकायहरू बिदा हुने दिन आइतबार तथा सार्वजनिक बिदाका दिन भने स्वास्थ्य बीमा सेवा सञ्चालन नहुने जनाइएको छ । स्वास्थ्य बीमा सेवा लिन आउने सेवाग्राहीले यसअघि साविकको प्रथम सेवा विन्दुबाट जारी गरिएको रिफरल पुर्जी अनिवार्य रूपमा साथमा ल्याउनुपर्ने अस्पतालले जनाएको छ ।
धुलिखेल अस्पतालले सरकारले स्वास्थ्य बीमाबापत उपलब्ध गराउनुपर्ने रकमको भुक्तानी नपाएको भन्दै करिब दुई महिनाअघि स्वास्थ्य बीमा सेवा बन्द गरेको थियो । अस्पतालले सेवा बन्द गरेपछि धुलिखेल अस्पतालमा उपचारका लागि आउने हजारौँ सेवाग्राही प्रभावित भएका थिए ।
धुलिखेल अस्पताल काभ्रेपलाञ्चोकका सेवाग्राहीका लागि मात्रै नभई आसपासका जिल्लाका बिरामीको समेत प्रमुख उपचार केन्द्रका रूपमा रहेको छ । अस्पतालमा काभ्रेसहित सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप, दोलखा, काठमाडौं उपत्यका तथा तराईका विभिन्न जिल्लाबाट समेत बिरामी उपचारका लागि आउने गरेका छन् ।
स्वास्थ्य बीमा सेवा बन्द हुँदा उपचारका लागि धुलिखेल अस्पतालमा निर्भर सेवाग्राहीले उपचार खर्च आफैँ व्यहोर्नुपर्ने वा अन्य अस्पताल खोज्नुपर्ने अवस्था सिर्जना भएको थियो । अब स्वास्थ्य बीमा सेवा पुनः सञ्चालन हुने भएपछि ती सेवाग्राहीलाई उपचारमा सहजता हुने अपेक्षा गरिएको छ । स्वास्थ्य बीमा सेवा पुनः सञ्चालन हुन लागेको जानकारी दिँदै अस्पताल प्रशासनले सेवा बन्द भएको अवधिमा सेवाग्राहीले देखाएको धैर्यता र सहयोगप्रति धन्यवादसमेत व्यक्त गरेको छ ।
प्रतिक्रिया