काठमाडौं । ऊर्जा व्यापारबाट मुलुकले उल्लेख्य आम्दानी गर्ने सम्भावनाको बाटो फराकिलो भएको छ । नेपालले एक वर्षमा अन्तरदेशीय विद्युत् व्यापारबाट १८ अर्ब ७६ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । आर्थिक वर्ष २०८२/८३ मा भारत र बंगलादेशमा विद्युत् निर्यात गरी यति खुद नाफा कमाएको हो ।
नेपाल विद्युत् प्राधिकरणको विद्युत व्यापार विभागका अनुसार एक वर्षमा कुल २९ अर्ब ३२ करोड ४७ रुपैयाँको विद्युत् निर्यात भएकोमा सुक्खायाममा आन्तरिक माग र आपूर्ति व्यवस्थापन गर्न १० अर्ब ५५ करोड ९९ लाख रुपैयाँको विद्युत् आयात गरिएको थियो । कुल आम्दानीबाट आयात खर्च कटौती गर्दा १८ अर्ब ७६ करोड ४८ लाख रुपैयाँ बराबरको मुनाफा आर्जन गर्न सकिएको प्राधिकरणका प्रवक्ता राजन ढकालले बताए ।
उनका अनुसार गत आर्थिक वर्ष आर्जन भएको खुद मुनाफा अघिल्लो आर्थिक वर्षको यही अवधिको तुलनामा ३१३ प्रतिशत (करिब चार गुणाभन्दा बढी)ले बढी हो । नेपालले अन्तरदेशीय विद्युत व्यापारबाट आर्थिक वर्ष २०८१/८२ देखि मात्रै नाफा आर्जन गर्न थालेको हो । उक्त वर्ष ४ अर्ब ५३ करोड ५७ लाख रुपैयाँ नाफा भएको थियो । नेपालले गत आर्थिक वर्षमा गरेको २९ अर्ब ३२ करोड ४७ लाख रुपैयाँ बराबरको आम्दानी अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा ६७.९६ प्रतिशतले बढी भएको पनि प्राधिकरणले जनाएको छ । यो अन्तरदेशीय विद्युत् व्यापारमा अहिलेसम्मकै नयाँ कीर्तिमान हो ।
सुक्खायाममा नदी तथा खोलाको पानीको बहाबमा आउने कमीका कारण आन्तरिक विद्युत् उत्पादनले माग तथा आपूर्ति व्यवस्थापन गर्न सकिँदैन । त्यो बेला भारतबाट नै विद्युत् आयात गर्नुपर्ने बाध्यता हुन्छ । बर्खा याममा बढ्दो उत्पादनका कारण आयातको तुलनामा निर्यात परिमाण बढ्दा मुलुकले अन्तरदेशीय व्यापारबाट नाफा आर्जन गरिरहेको प्राधिकरणले जनाएको छ ।
सार्वजनिक तथ्यांकअनुसार गत आर्थिक वर्ष ३ अर्ब ८७ करोड ७४ लाख ९२ हजार युनिट विद्युत् निर्यात गरिएको छ । यो परिमाण अघिल्लो आर्थिक वर्षको यही अवधिको तुलनामा ६२.८९ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षमा नेपालतर्फबाट २ अर्ब ३८ करोड २९ लाख युनिट विद्युत् भएको थियो । त्यसबाट १७ अर्ब ४५ करोड ८७ लाख रुपैयाँ आम्दानी भएको थियो ।
प्राधिकरणका अनुसार भारतीय खुला तथा प्रतिस्पर्धी बजार इन्डियन इनर्जी एक्सचेन्जको डे–अहेड मार्केट तथा रियल टाइम मार्केट र एनटीपीसी विद्युत् व्यापार निगम –एनभीभीएन)मार्फत तथा बंगलादेशसँगको त्रिपक्षीय व्यापारमार्फत गत आर्थिक वर्षमा अन्तरदेशीय बजारमा नेपालको विद्युतले प्रतियुनिट औसत ७.५६ रुपैयाँ दर पाएको थियो । न्युज २४ दैनिकबाट
प्रतिक्रिया