एजेन्सी । चीनको सिजाङ स्वायत्त क्षेत्रमा गएको ७.० म्याग्निच्युडको भूकम्पपछि राहत, उद्धार तथा पुनःस्थापनाका लागि सरकारले ८ करोड युआन विनियोजन गरेको छ । भूकम्पमा परी १६ जनाको मृत्यु भएको छ भने ६५ जना घाइते भएका छन् ।
चीनको अर्थ मन्त्रालय र आपत्कालीन व्यवस्थापन मन्त्रालयले उद्धार तथा प्रभावितलाई सहायता उपलब्ध गराउन ५ करोड युआन छुट्याएका छन् । त्यस्तै, क्षतिग्रस्त पूर्वाधार र सार्वजनिक सेवा पुनःस्थापनाका लागि थप ३ करोड युआन विनियोजन गरिएको छ ।
बिहीबार राति १०ः३३ बजे नाग्छु सहरको बाकेन काउन्टीमा गएको भूकम्पपछि चीनले आपत्कालीन प्रतिकार्यलाई तीव्र बनाएको छ । उद्धारका लागि ३५० जना उद्धारकर्मी र ८३ वटा सवारीसाधन परिचालन गरिएको छ । घाइतेहरूलाई नजिकैका अस्पतालमा उपचारका लागि लगिएको छ भने प्रभावितलाई खाना र अत्यावश्यक सामग्री उपलब्ध गराइएको छ ।
भूकम्पका कारण पहिरोले अवरुद्ध भएको राष्ट्रिय राजमार्ग ३१७ पुनः सञ्चालनमा ल्याइएको छ । प्रभावित क्षेत्रमा इन्धन आपूर्ति र सुरक्षा जाँचलाई तीव्र बनाइएको छ भने सुरक्षाका उपाय अपनाउँदै प्रभावित रेलमार्गमा यात्रुवाहक सेवा पनि पुनः सञ्चालन गरिएको छ ।(सीसीटीभीप्लस)
प्रतिक्रिया