• २०८३ कार्तिक ११ | Tue, 27 Oct 2026

बाढीपहिरो पीडितको राहत, स्वास्थ्य र शिक्षामा जुट्दै ‘कान्छीमाया तामाङ फाउन्डेसन’

बाढीपहिरो पीडितको राहत, स्वास्थ्य र शिक्षामा जुट्दै ‘कान्छीमाया तामाङ फाउन्डेसन’

काभ्रे । बाढी तथा पहिरोबाट प्रभावित समुदायको राहत, स्वास्थ्य उपचार र शिक्षामा सहयोग पुर्‍याउने उद्देश्यले कान्छीमाया तामाङ फाउन्डेसनले आगामी दिनका लागि विभिन्न सामाजिक कार्यक्रम अघि सारेको छ । फाउन्डेसनले रसुवा, धादिङ र नुवाकोटलगायत जिल्लामा राहत वितरण, निःशुल्क स्वास्थ्य शिविर, बालबालिकाको शिक्षामा सहयोग तथा एम्बुलेन्स हस्तान्तरणका कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

फाउन्डेसनका अध्यक्ष एवं डा. दिलबहादुर थोकरका अनुसार आगामी अक्टोबर २६ मा रसुवा जिल्लाको चिलिमे र गोल्जुङ क्षेत्रमा बाढी तथा पहिरोबाट प्रभावित एक हजार घरधुरीलाई खाद्यान्न तथा राहत सामग्री वितरण गरिनेछ । विपदबाट प्रभावित परिवारलाई तत्काल आवश्यक सहयोग पुर्‍याउने उद्देश्यले राहत वितरणको कार्यक्रम तय गरिएको उनले जानकारी दिए । त्यस्तै, नोभेम्बर ९ देखि ११ सम्म मलेसियाली चिकित्सकहरूको टोलीको सहभागितामा बाढीपहिरो प्रभावित क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिनेछ । विपद्पछि स्वास्थ्य समस्या भोगिरहेका तथा नियमित स्वास्थ्य सेवाको पहुँचमा पुग्न कठिनाइ भएका स्थानीय बासिन्दालाई लक्षित गरी शिविर सञ्चालन गर्न लागिएको हो ।

फाउन्डेसनले विपदबाट प्रभावित बालबालिकाको शिक्षालाई निरन्तरता दिन पनि सहयोग गर्ने भएको छ । अमेरिकास्थित मोरिङ्गा फर लभ (Moringa for Love, USA) को सहयोगमा नोभेम्बर १५ देखि १८ सम्म प्रभावित एक सय जना बालबालिकालाई निःशुल्क शिक्षा प्रदान गर्ने कार्यक्रम तय गरिएको अध्यक्ष थोकरले कालाेटाेपी डटकमसँग बताए ।

यसैगरी, नोभेम्बर २९ देखि डिसेम्बर ५ सम्म धादिङ जिल्लाका बाढी तथा पहिरो प्रभावित क्षेत्रमा ताइवानका चिकित्सकहरूको टोलीमार्फत पाँचदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिनेछ । शिविरबाट प्रभावित समुदायका स्थानीय बासिन्दालाई आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउने फाउन्डेसनको योजना छ ।

फाउन्डेसनले डिसेम्बर २९ मा नुवाकोट जिल्लाका आवश्यकतामा रहेका परिवारलाई खाद्यान्न वितरण गर्नुका साथै सुकुमान अस्पताललाई एम्बुलेन्स हस्तान्तरण गर्ने कार्यक्रमसमेत तय गरेको छ । यसबाट विपन्न परिवारलाई राहत पुग्नुका साथै स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

कान्छीमाया तामाङ फाउन्डेसनले यसअघि पनि विभिन्न सामाजिक तथा मानवीय सेवाका गतिविधि सञ्चालन गर्दै आएको छ । गत भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत वितरण तथा स्वास्थ्य शिविर सञ्चालनमा समेत संस्थाले सहयोग गरेको थियो ।

रसुवामा एक हजार घरपरिवारलाई राहतदेखि धादिङमा निःशुल्क स्वास्थ्य शिविरसम्मका कार्यक्रम तय

विपद्का बेला प्रभावित समुदायलाई तत्काल राहत उपलब्ध गराउनुका साथै स्वास्थ्य उपचार र शिक्षाजस्ता आधारभूत आवश्यकतामा सहयोग पुर्‍याउने फाउन्डेसनको प्रयासको विभिन्न क्षेत्रबाट प्रशंसा हुँदै आएको छ । ‘सेवा, शिक्षा, स्वास्थ्य र मानवता’ लाई मूल अभियान बनाएको फाउन्डेसनले आगामी कार्यक्रममार्फत विपद्पीडित परिवार, बालबालिका र स्वास्थ्य सेवाको पहुँचबाट वञ्चित समुदायलाई सहयोग पुर्‍याउने लक्ष्य राखेको छ ।



कालोटोपी कालोटोपी    
  • २०८३ कार्तिक ८, शनिबार २०:२८
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP