• २०८३ जेष्ठ २३ | Sat, 06 Jun 2026

‘नेपालले एक इञ्च पनि भूमि मिचेको छैन’: एमाले अध्यक्ष ओली

‘नेपालले एक इञ्च पनि भूमि मिचेको छैन’: एमाले अध्यक्ष ओली

काठमाडौं । एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री बालेन शाहले देशद्रोही कुरा गरेको भन्दै आपत्ति जनाएका छन् । काठमाडौंमा बुधबार आयोजित पार्टी कार्यक्रममा बोल्दै शाहले संसदमा भनेजस्तो नेपालले भारतको जमिन कतै पनि नमिचेको ओलीले बताए ।

‘उहाँले देशद्रोही कुरा गर्नुभयो । नेपालले भारतको धेरै ठाउँमा सीमा मिचेको छ भनेर । धेरै ठाउँमा होइन, एक ठाउँमा पनि, एक इञ्च पनि भारतको जमिन नेपालले मिचेको छैन,’ ओलीले भने ‘प्रधानमन्त्री शाहको अभिव्यक्ति सम्पूर्णरुपमा झुट छ । राष्ट्रघाती वचन प्रधानमन्त्रीले संसद्को रोष्ट्रमबाट बोल्नुहुँदैनथ्यो तर त्यहाँ बोल्ने काम भयो ।’ उनले प्रधानमन्त्रीको उक्त विवादित अभिव्यक्ति कसको हित र पक्षमा बोलेको भन्ने प्रश्न गर्दै नेपालको अहित र विपक्षमा रहेको बताए ।

अध्यक्ष ओलीले छिमेकीहरूसँग केही परे द्विपक्षीय हिसाबले छलफल गरी समाधान गरिने पनि बताए । उनले भने, ‘छिमेकीहरूसँग कुनै वादविवाद पर्यो भने दुई पक्षीय हिसाबले बसेर समाधान गर्छौं, तेस्रो पक्षलाई त्यहाँ सामेल गर्दैनौं । यो नेपालको नीति हो, हामीले यो प्रक्रिया अघि बढाइसकेका छौं । नेपाल तपाईंको घरको सम्पत्ति होइन ।’ आइतबार प्रधानमन्त्री शाहले सांसदको प्रश्नमा जवाफ दिने क्रममा नेपाल–भारत सीमा विवादबारे बेलायतसँग पनि कुरा भइरहेको अभिव्यक्ति दिएका थिए ।

सरकारलाई उत्ताउलिएर धेरै अघि नबढ्न ओलीले चेतावनी पनि दिएका छन् । उनले सरकार पूर्वाग्रही ढंगले अघि बढेको आरोप लगाउँदै भने, ‘समय परिस्थिति सधैं एकैनासको हुँदैन, उत्ताउतिएर धेरै अघि नबढ्नुहोला । राणाशासन, पञ्चायती तानाशाही, राजतन्त्र ढले, अनेक तन्त्र ढले, यो अराजक तन्त्र कति समयको पाहुना हो । लामो समय चल्न सक्दैन ।’

उनले भदौ २३–२४ गतेको आक्रमण राष्ट्रियता र देशभक्तिविरुद्धको आन्दोलन भएको दाबी गरे । गत फागुनको निर्वाचन तमासा मात्र भएको भन्दै ओलीले परिणाम पूर्वनिर्धारित भएको बताए । त्यस्तै, उनले सरकारले बनाएको सम्पत्ति छानबिन आयोगलाई बयान नदिने घोषणा पनि गरेका छन् । उनले माघ १९ को ‘कू’ पछि तत्कालीन राजा ज्ञानेन्द्र शाहले विरोधी फसाउनका लागि गठन गरेको शाही आयोगकै संज्ञा दिँदै यस्तो आयोगलाई आफूले मान्यता नदिने बताए । न्युज २४ दैनिकबाट



कालोटोपी कालोटोपी    
  • २०८३ जेष्ठ २१, बिहीबार ०५:२३
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP