हेलम्बु, सिन्धुपाल्चोक। पहिले आलु, मकै र कोदो जस्ता परम्परागत बालीमा निर्भर रहेका सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका किसानहरू अहिले “कालो सुन” भनेर चिनिने अलैंची खेतीतर्फ आकर्षित हुन थालेका छन् ।
यहाँको चिसो हावापानी, पर्याप्त आर्द्रता र छायाँयुक्त जमिन अलैंची उत्पादनका लागि उपयुक्त मानिने भएकाले पछिल्ला वर्षहरूमा यसको खेती उल्लेखनीयरूपमा विस्तार हुँदै गएको छ । स्थानीय किसानका अनुसार अलैंची एकपटक रोपेपछि करिब १५ देखि २० वर्षसम्म उत्पादन दिन सक्ने दीर्घकालीन नगदे बाली हो ।
साथै बाँदर, बँदेल लगायतका वन्यजन्तुले खासै क्षति नगर्ने भएकाले अन्य बालीको तुलनामा जोखिम पनि कम रहेको उनीहरूको अनुभव छ । यही कारण धेरै किसानले परम्परागत खेतीसँगै अलैंचीलाई आम्दानीको भरपर्दो स्रोतका रूपमा अपनाउन थालेका छन् ।
अलैंची खेतीले ग्रामीण परिवारको आर्थिक अवस्था सुधार्न, रोजगारी सिर्जना गर्न र कृषिलाई व्यवसायिक बनाउन महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ । उचित प्राविधिक सहयोग, गुणस्तरीय बिरुवा, रोग–कीरा व्यवस्थापन तथा बजार सुनिश्चित गर्न सके हेलम्बु क्षेत्र अलैंची उत्पादनको महत्वपूर्ण केन्द्रका रूपमा स्थापित हुन सक्ने सम्भावना रहेको कृषिविज्ञहरूको भनाइ छ ।
स्थानीय तह, कृषि कार्यालय तथा सम्बन्धित निकायले किसानलाई तालिम, प्राविधिक सेवा र बजारीकरणमा थप सहयोग गर्न सके अलैंची खेती अझ प्रभावकारी बन्ने विश्वास गरिएको छ । यसले हेलम्बुका किसानको आयवृद्धिसँगै स्थानीय अर्थतन्त्रलाई समेत थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया