बनेपा । बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना तथा राष्ट्रिय सहकारी बैंकको प्राविधिक सहयोगमा संस्थाका शेयर सदस्यहरूका लागि दुईदिने उद्यमशीलता विकास तालिम शुरु भएको छ ।
आजदेखि शुरु भएको तालिममा ४५ जना सदस्यहरूको सहभागिता रहेको छ । तालिममा सहभागी सदस्यहरूलाई उद्यमशीलताको अवधारणा, व्यवसायको अवस्था विश्लेषण, नाफा–नोक्सानको मूल्याङ्कन तथा व्यवसायबाट अधिकतम लाभ कसरी आर्जन गर्न सकिन्छ भन्ने विषयमा सहकारी संस्थाका नायव प्रमुख कार्यकारी अधिकृत त्रिलोचन घिमिरेले प्रशिक्षण प्रदान गरिरहनुभएको छ ।
कार्यक्रमका प्रमुख अतिथि तथा संस्थाका अध्यक्ष शान्तकुमार श्रेष्ठले उद्यमशीलता विकासका लागि यस्ता तालिमहरू प्रभावकारी हुने बताउँदै सदस्यहरूलाई प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो । त्यसैगरी संस्थाका उपाध्यक्ष एवं शिक्षा तथा तालिम उपसमितिका संयोजक रामहरि शर्मा तिमल्सिनाले तालिमबाट सदस्यहरूले आफ्नो व्यवसायलाई थप व्यवस्थित, विकास र विस्तार गर्न सक्ने तथा व्यवसायिक सफलता हासिल गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा राष्ट्रिय सहकारी बैंक बनेपा शाखाका प्रबन्धक उपेन्द्र दाहालको समेत उपस्थिति रहेको थियो । संस्थाको मुख्य कार्यालयमा आयोजित तालिम कार्यक्रमको सञ्चालन वरिष्ठ अधिकृत सुदर्शन धिमिरेले गर्नुभएको थियो ।
सहकारी संस्थाले सदस्यहरूको आर्थिक तथा व्यवसायिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले नियमितरूपमा यस्ता क्षमता विकाससम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।
प्रतिक्रिया